काठमाडौं । बुधबार सेयर बजारमा गिरावट जारी रहँदा नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४ बिन्दुमा झरेको छ। अघिल्लो दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो।
कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा ३० कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनी स्थिर रहेका छन्।
समूहगत रूपमा व्यापार १.०९ प्रतिशत र विकास बैंक ०.१४ प्रतिशतले बढेका छन्। तर अन्य अधिकांश समूहमा गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी २.२४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ र अन्य समूह ०.९२ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशतले बढेको छ। लक्ष्मी लघुवित्त, धौलागिरि लघुवित्त र भुजुङ हाइड्रोपावरको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।
यता, शिखर पावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज, त्रिशुली जलविद्युत र झापा इनर्जीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।