

काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको छ। शनिबार बिहानदेखि नदी किनारका बस्तीमा बनेका संरचना हटाउने अभियान सञ्चालन गरिएको थियो। साँझतिर मनोहरा क्षेत्र पुगेको टोलीमाथि एक समूहले ढुंगामुढा गरेको प्रहरी स्रोतले जनाएको छ।
घटनामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी का करिब एक दर्जन कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
संरचना हटाउन पुगेको टोलीलाई स्थानीयले आज नभई भोलि काम गर्न आग्रह गरेका थिए। सो अनुरोध स्वीकार गर्दै फर्किन लागेको अवस्थामा मादक पदार्थ सेवन गरेको समूहले उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ। स्थिति तनावपूर्ण बनेपछि प्रहरी टोलीले आजका लागि काम स्थगित गर्दै फर्किएको जनाएको छ।