थापाथलीका सुकुमवासीको ‘स्क्रिनिङ’ जारी, दशरथ रंगशालामा लगत सङ्कलन

थापाथलीका सुकुमवासीको ‘स्क्रिनिङ’ जारी, दशरथ रंगशालामा लगत सङ्कलन

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारबाट हटाइएका सुकुमवासी तथा भूमिहीन परिवारहरूको ‘स्क्रिनिङ’ प्रक्रिया जारी रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिका टोलीले लगत सङ्कलन गरिरहेका छन् ।

प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार अपराह्न १ः३० बजेसम्म २३ परिवारको विवरण सङ्कलन गरिएको छ । दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा स्थानान्तरण गरिएको उनले जानकारी दिइन् ।

सरकारले वास्तविक सुकुमवासीको पहिचान गरी अस्थायी ‘सेल्टर’मा बसोबासको व्यवस्था गर्ने र त्यसपछि स्थायी व्यवस्थापनका लागि जमिन उपलब्ध गराउने तयारी गरेको जनाएको छ । सेल्टरमा बस्ने, खाने लगायत आधारभूत सुविधा उपलब्ध गराइने पनि बताइएको छ ।

थापाथली क्षेत्रका अवैध संरचना हटाइएपछि प्रभावित परिवारहरूलाई सरसामानसहित रंगशालामा ल्याइएको हो । अझै पनि केही सुकुमवासी सुरक्षित बसोबासको खोजीमा रंगशालामा आउने क्रम जारी छ भने कतिपयले सरकारले तोकेको स्थानमा नबस्ने भन्दै बाहिरिने गरेका छन् ।

स्वास्थ्य सेवाका लागि काठमाडौं महानगरपालिकाको टोली रंगशालामै खटिएको छ । चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोलीले सुकुमवासीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको छ ।

यसैबीच, थापाथलीमा सुकुमवासी बस्ती हटाउने कार्य सम्पन्न भएको छ । अहिले सिनामंगल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध संरचना हटाउने काम जारी रहेको छ । स्थानीयले सरकारको निर्देशनअनुसार घरटहरा भत्काएर सरसामान सुरक्षित स्थानमा सारिरहेका छन् ।