नेप्सेमा निरन्तर उकालो: सूचक २८५१ विन्दुमा, कारोबार रकम पनि बढ्यो

नेप्सेमा निरन्तर उकालो: सूचक २८५१ विन्दुमा, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पनि बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबारको वृद्धि क्रमलाई निरन्तरता दिँदै बजारमा सकारात्मक रुझान देखिएको हो।

यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले वृद्धि हुँदा फ्लोट इन्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले बढेको छ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३८ स्टकका १ लाख ८ हजार ८६९ कारोबारबाट ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ८ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका शेयरमा उच्च वृद्धि देखिएको हो। त्यस्तै, हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ७.५ प्रतिशतले बढेको छ। भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ६.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहँदा सो कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारका सबै १३ उपसमूहमा वृद्धि देखिएको छ। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि हुँदा बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।