

काठमाडौं । बुधबार नेप्से बढेर २८०० विन्दुभन्दा माथि बन्द भएको छ। अघिल्लो दिन सामान्य गिरावट आएको बजार यस दिन भने उकालो लाग्दै २८०२.५२ विन्दुमा पुगेको हो।
यस दिन नेप्से परिसूचक ४५.१२ अंकले वृद्धि भएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७५ अंकले बढ्दा फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले उकालो लागेको छ।
कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४६ वटा स्टकको ९८ हजार १६२ पटकको कारोबारबाट ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको १ करोड ८८ लाख कित्ता शेयर किनबेच भएको छ।
यस दिन ७ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका शेयरमा उच्च वृद्धि देखिएको हो। साथै, सान्भि इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी तथा बन्दीपुर केबलकार एण्ड टुरिजमको ८ प्रतिशतभन्दा बढीले बढेको छ।
यद्यपि, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य भने सबैभन्दा धेरै ४.३५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा सबै १३ उपसमूहका सूचक बढेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन र जलविद्युत समूहमा साढे २ प्रतिशतभन्दा बढी वृद्धि हुँदा बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूहमा पनि १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।