

काठमाडौं । शेयरबजारमा पुनः गिरावट देखिएको छ। मंगलबार बढेको बजार बुधबार भने उल्लेख्य रूपमा ओरालो लाग्दै ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा सीमित भएको हो। नेपाल स्टक एक्सचेन्ज का अनुसार यस दिन बजार २.६२ प्रतिशतले घटेको छ। कुल १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार हुँदा करिब ३ करोड कित्ता सेयर किनबेच भएका छन्। बजारमा सीमित १३ कम्पनीको मूल्य बढ्दा २५५ कम्पनीको सेयर मूल्य घटेको देखिएको छ।
बढेका कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोमा सर्किट ब्रेक लागेको छ भने भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको सेयर पनि ९.९९ प्रतिशतसम्म बढेको छ।
त्यसैगरी घटेका कम्पनीमध्ये सबैभन्दा बढी गिरावट नेपाल रिइन्स्योरेन्स मा देखिएको छ, जसको सेयर मूल्य ९.८४ प्रतिशतले घटेको छ। साथै सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो र शिवश्री हाइड्रोका सेयरहरू पनि अधिकतम ७.२८ प्रतिशतसम्मले घटेका छन्।
कारोबारका हिसाबले हिमालयन रिइन्स्योरेन्स अगाडि रहँदै ७१ करोड रुपैयाँको कारोबार गरेको छ। त्यस्तै अपि पावर, ङादी ग्रुप पावर, शिवम् सिमेन्ट र नेपाल रिकोमा पनि उच्च कारोबार भएको छ। यस दिन सबै समूहका सूचकहरू राताम्य देखिएका छन्, जसले बजारमा व्यापक दबाब कायम रहेको संकेत गर्दछ।