२२ वर्षमा नेपाल टेलिकमको फड्को: ६ अर्ब नाफा, १८ अर्ब कर

२२ वर्षमा नेपाल टेलिकमको फड्को: ६ अर्ब नाफा, १८ अर्ब कर

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सवको अवसरमा आर्थिक र प्राविधिक प्रगतिका उपलब्धि सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक अवधिमा करिब ६ अर्ब रुपैयाँ नाफा कमाएको र १८ अर्ब रुपैयाँ सरकारलाई कर तिरेको जनाएको छ।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको नेपाल टेलिकम २३औँ वर्षमा प्रवेश गर्दै गर्दा देशभर सेवा विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ। हाल कम्पनीले ७७ वटै जिल्लाका ७ सय ४९ स्थानीय तहमा फोरजी–एलटीई सेवा विस्तार गरिसकेको छ। अब हुम्ला र मुगुका केही दुर्गम क्षेत्रमा मात्र फोरजी सेवा पुर्‍याउन बाँकी रहेको टेलिकमले जनाएको छ।

ग्राहक सेवालाई थप प्रभावकारी बनाउन उच्च गतिको फाइबर इन्टरनेट सेवा पनि विस्तार गरिएको छ। हालसम्म २२ लाख ६५ हजार घरधुरीमा फाइबर इन्टरनेटको पहुँच पुगेको छ, जसमध्ये ८ लाख ४९ हजारभन्दा बढी ग्राहकले सक्रिय रूपमा सेवा प्रयोग गरिरहेका छन्।

कम्पनीका अनुसार हाल नेपाल टेलिकमको कुल ग्राहक संख्या २ करोड १९ लाखभन्दा बढी पुगेको छ।

वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहक लक्षित विभिन्न आकर्षक अफर पनि सार्वजनिक गरेको छ। २२२ रुपैयाँमा २२ दिनका लागि डेटा, भ्वाइस र एसएमएस प्याक उपलब्ध गराइएको छ। त्यस्तै, २२ रुपैयाँमा प्रिपेड सिमकार्ड र एफटीटीएच जडानमा छुट दिइने भएको छ। पुराना बक्यौता भुक्तानी गर्दा जरिवाना मिनाहा गरिने र विद्यार्थीका लागि विशेष प्याकेजको अवधि थप गरिएको कम्पनीले जनाएको छ।