१९औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको देशव्यापी रक्तदान, सातै प्रदेशमा एकैसाथ ५५८ जनाको सहभागिता

१९औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको देशव्यापी रक्तदान, सातै प्रदेशमा एकैसाथ ५५८ जनाको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले स्थापना दिवसका अवसरमा घोषणा गरेका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत यो रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

पुस १८ गते शुक्रबार स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसर पारेर बैंकले देशभर एकैदिन रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशका कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशका चौराहा बुटवल र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कुल ५५८ जनाले रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरुलाई प्राथमिकताका आधारमा वितरण गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक कल्याणका क्षेत्रमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।