

काठमाडौं । बाल्यकालमै अत्यधिक स्क्रिन समय बिताएका बालबालिकामा किशोरावस्थामा पुग्दा मानसिक स्वास्थ्य समस्या देखिने जोखिम उच्च हुने एक नयाँ अध्ययनले देखाएको छ। ई–बायो मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी स्क्रिन प्रयोगले मस्तिष्कको विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने पाइएको हो।
सिङ्गापुरको ए स्टार इन्स्टिट्यूट र नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका अनुसन्धानकर्ताहरूले एक दशकभन्दा बढी समयसम्म बालबालिकालाई अनुगमन गरी गरेको यस अध्ययनले शिशु अवस्थामा अत्यधिक स्क्रिन समय बिताउँदा मस्तिष्कको सञ्जाल असामान्य रूपमा चाँडै परिपक्व हुने निष्कर्ष निकालेको छ। यसको असरस्वरूप आठ वर्षको उमेरमा निर्णय लिने क्षमता कमजोर हुने र १३ वर्षसम्म पुग्दा चिन्तासम्बन्धी लक्षणहरू बढ्ने देखिएको छ।
अध्ययनले तीन वर्षको उमेरदेखि अभिभावकसँग बसेर नियमित रूपमा किताब पढ्ने बालबालिकामा भने स्क्रिन समयका नकारात्मक प्रभाव केही हदसम्म कम भएको देखाएको छ। विश्वभर बालबालिकाको स्क्रिन प्रयोग तीव्र रूपमा बढिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले अभिभावक र नीति निर्मातालाई सचेत गराएको छ।
सन् २०२४ को तथ्याङ्कअनुसार विश्वभर मानिसहरूले दैनिक औसत ६ घण्टा ३८ मिनेट स्क्रिनमा बिताउँछन् भने अमेरिकामा यो समय ६ घण्टा ४० मिनेट पुगेको छ। बालबालिकाको अवस्था झनै चिन्ताजनक देखिएको छ। अमेरिकामा ८ देखि १८ वर्षका बालबालिकाले दैनिक औसत साढे ७ घण्टा मनोरञ्जनका लागि मात्र स्क्रिन प्रयोग गर्ने गरेका छन्। त्यसमध्ये ४१ प्रतिशत किशोरकिशोरीले दिनमा ८ घण्टाभन्दा बढी समय स्क्रिनमै बिताउने गरेको तथ्याङ्क छ।
यसै सन्दर्भमा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले १८ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन समय नदिन सिफारिस गरेको छ। दुईदेखि पाँच वर्षका बालबालिकालाई भने दैनिक एक घण्टामात्र उच्च गुणस्तरको सामग्री हेर्न दिन सुझाव दिइएको छ। तर अध्ययनअनुसार ८७ प्रतिशत बालबालिकाले सिफारिस गरिएको समयभन्दा बढी स्क्रिन प्रयोग गरिरहेका छन्।
अध्येताहरूले स्क्रिन समय सीमित गर्नुका साथै अभिभावकले बालबालिकासँग किताब पढ्ने, खेल्ने र नियमित संवाद गर्ने जस्ता गतिविधिमा समय दिन आग्रह गरेका छन्। यसले बालबालिकाको मानसिक विकास सन्तुलित राख्न सहयोग पुग्ने उनीहरूको निष्कर्ष छ।