सिद्धबाबा सुरूङमार्ग निर्माण तोकिएकै अवधिमा काम सक्न मन्त्री घिसिङको निर्देशन

सिद्धबाबा सुरूङमार्ग निर्माण तोकिएकै अवधिमा काम सक्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। आयोजनाअनुसार हालसम्म वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ।

१ हजार १२६ मिटर लम्बाइको मुख्य सुरूङ निर्माण ६५ प्रतिशत सम्पन्न भइसकेको छ भने सुरूङसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण, रिटेनिङ वाललगायत संरचना निर्माणको काम जारी छ। समग्रमा आयोजनाले २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने जनाएको छ।

पहिरो र ढुंगा खस्ने जोखिम न्यूनीकरणका लागि ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको रक सेड निर्माण अझै बाँकी छ। मुख्य सुरूङबाट सवारी सञ्चालन सुरु भएपछि रक सेड निर्माण थालिने आयोजनाले जनाएको छ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले तोकिएको समयमै आयोजना सम्पन्न गर्न ताकेता समेत गरेका छन्।

‘समयमै साइट उपलब्ध गराउन नसकिएको, वन कटानमा ढिलाइ भएको र अग्रिम भुक्तानीमा समस्या देखिएको भन्दै निर्माण व्यवसायीले १९ महिना म्याद थप माग गरेको रहेछ,’ मन्त्री घिसिङले भने, ‘आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुपर्छ। कुनै पनि हालतमा निर्माण प्रभावित हुन दिनु हुँदैन।’

सिद्धबाबा सुरूङ इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण भइरहेको छ। २५ फागुन २०७८ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग करसहित ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार चैत २०८३ भित्र सुरूङ निर्माण सम्पन्न गर्नुपर्नेछ।

निर्माण सम्पन्न भएपछि कम्पनीले १ हजार ८२५ दिनसम्म सुरूङ सञ्चालन तथा मर्मतसम्भार गर्नेछ। सुरूङमार्ग सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो।

सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँद दुवै समयमा ढुंगा खस्ने, माटो बग्ने र पहिरो जाने समस्या रहँदै आएको छ, जसका कारण बारम्बार दुर्घटना र मानवीय क्षति हुँदै आएको छ। वर्षायाममा समस्या झनै विकराल हुने र घण्टौँसम्म यातायात अवरुद्ध हुने अवस्थालाई समाधान गर्न सुरूङमार्ग निर्माण थालिएको हो।