काम नगरी वर्षौँ अलपत्र पारेका २२ सिँचाइ ठेक्का तोडिए, १४ अर्ब २३ करोडको सम्झौता रद्द

काम नगरी वर्षौँ अलपत्र पारेका २२ सिँचाइ ठेक्का तोडिए, १४ अर्ब २३ करोडको सम्झौता रद्द

काठमाडौँ । ठेक्का सम्झौता गरेर पनि लामो समयसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्तिविरुद्ध सरकारले कडा कदम चालेको छ । सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएका छन् । तोडिएका ठेक्काको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६ वटा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम, धनुषाअन्तर्गतका १५ वटा र सुनकोशी–मरिन आयोजनाको १ वटा ठेक्का रहेका छन् । भेरी–बबई आयोजनाअन्तर्गत १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ भने जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपैयाँ बराबरका ठेक्का रद्द गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना रुग्ण बनाउने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । त्यसअनुसार वर्षौँदेखि समस्याग्रस्त रहेका ठेक्काहरू क्रमशः रद्द गरिँदै आएका छन् ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २ सय १५ वटा चालू ठेक्का छन्, जसमध्ये ३३ वटा समस्याग्रस्त ठहरिएका छन् । तीमध्ये हालसम्म २२ वटा ठेक्का तोडिसकिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए ।

यस क्रममा सिँचाइतर्फकै सबैभन्दा ठूलो ठेक्का मानिने राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का पनि तोडिएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युत गृहलगायत सिभिल संरचना तथा गेटसहितका हाइड्रोमेकानिकल उपकरणको आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँग गरिएको ठेक्का सम्झौता रद्द गरिएको हो ।

उक्त आयोजनाका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सरकारले काम नगर्ने ठेकेदारप्रति अब थप कडाइ गर्ने संकेतसमेत दिएको छ ।