लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ चर्किँदो ट्राफिक जाम नियन्त्रणमा ल्याउन ट्राफिक प्रहरीले नयाँ कडाइ लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका दिवा तथा रात्रि सेवाका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था अनिवार्य भएको हो।

ट्राफिक प्रहरीले लामो दूरीका बसहरूले पछिल्लो समय स्थानीय सार्वजनिक यातायातजस्तै सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएपछि पिक आवरमा जाम झनै गम्भीर बन्न थालेको जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमनविहीन रूपमा सडकमै रोक्ने प्रवृत्तिले राजधानीको भिडभाडमा थप समस्या उत्पन्न भइरहेको छ। “अहिलेको जामको मुख्य कारणमध्ये एक यही हो। त्यसैले सबै गाडी अब बसपार्कबाट मात्र छुट्नुपर्ने नियम लागू गरिएको हो,” उनले बताए।

ट्राफिक कार्यालयले लामो दूरीका सवारीलाई दिइँदै आएको बाटो इजाजतपत्र (रुट परमिट) पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको छ र यसका लागि सम्बन्धित निकायलाई पहल गरिसकेको बताइएको छ।

सुवेदीले नागरिकको दैनिकीमा जामले पारेको गम्भीर असरलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको उल्लेख गरे।

सडक अनुशासन मजबुत बनाउन ट्राफिक प्रहरीले पछिल्ला दिनमा विभिन्न कडाइ लागू गर्दै आएको छ।