

काठमाडौं । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर तथा नेपाली राजनीतिक इतिहासका आदर्श नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज (सोमबार) देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ ।
त्याग, सत्यनिष्ठा र साहसका प्रतीकका रूपमा चिनिने सिंह नेपाली राजनीतिमा निष्ठा र लोकतान्त्रिक आदर्शका प्रतिमूर्ति मानिन्छन्। विसं २०४६ को ऐतिहासिक जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि उनले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै अपूर्व राजनीतिक त्यागको उदाहरण प्रस्तुत गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो। खानदानी परिवारमा जन्मिए पनि सिंहले जनताको पक्षमा राणा शासनविरुद्ध राजनीतिक यात्रा सुरु गरेका थिए। विसं १९९७ मा नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्मा सदस्य भएर राणा शासनको अन्त्यका लागि सक्रिय भएका उनी पछि पक्राउ परे र जेल जीवन भोगे।
विसं २००७ अघि भद्रगोल जेल फोडी भाग्न सफल भएका सिंह भारत पुगेर बिपी कोइरालासँग सहकार्यमा लागे। विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापनामा उनका महत्वपूर्ण योगदान रह्यो। विसं २००७ को क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्दै उनले प्रजातन्त्र स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरे।
बिपीका नजिकका अनुयायी र समर्थकका रूपमा चिनिने सिंहले विसं २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारले वरिष्ठ मन्त्रीको जिम्मेवारी सम्हाले। तर विसं २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए।
रिहा भएपछि प्रवासमा रहँदै उनले पार्टी संगठन विस्तारमा योगदान दिए। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि पनि उनी निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहे।
उनले विसं २०३६ को जनमत सङ्ग्रह, विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनमा अग्रणी भूमिका निभाए। २०४६ को आन्दोलनमा उनले कम्युनिस्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती शासनको अन्त्यका लागि आन्दोलनको नेतृत्व गरे र सर्वोच्च कमान्डरको भूमिकामा जनताको विश्वास जिते।
गणेशमान सिंह र बिपी कोइरालालाई विसं २०१७ पुस १ गतेको कूपछि सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। उनीहरूले विसं २०२५ सम्म निरन्तर जेल जीवन बिताए। पछि २०३३ पुस १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि पुनः सुन्दरीजलमा बन्दी बनाइए। विसं २०६१ भदौ २४ गते उक्त बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो।
उनको स्मृतिमा आज नेपाली कांग्रेससहितका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर श्रद्धाञ्जलि सभा, दीप प्रज्वलन, र विचार गोष्ठीका कार्यक्रम आयोजना गरेका छन्।