चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी ऋण ५० अर्ब ६० करोडले वृद्धि

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी ऋण ५० अर्ब ६० करोडले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआति तीन महिनामा सरकारी ऋण ५० अर्ब ६० करोडले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब चार करोड रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ। यसले कुल गार्हस्थ्य उत्पादन (GDP) को ४४.६१ प्रतिशत बराबरको ऋण तिर्न बाँकी रहेको देखाउँछ।

असोज मसान्तसम्म कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड छ।

सरकारले चालू आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १ खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको छ। आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्य रहेकोमा असोज मसान्तसम्म ९० अर्ब, वार्षिक लक्ष्यको २४.८६ प्रतिशत उठिसकेको छ। बाह्य ऋणको लक्ष्य दुई खर्ब ३३ अर्ब ६६ करोडमध्ये हालसम्म १ अर्ब ८४ करोड अर्थात् ४.६५ प्रतिशत मात्र उठ्न सकेको छ।

सरकारी ऋणको ब्याज तिर्न यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बजेट छुट्याइएको छ। असोज मसान्तसम्म एक खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ, जुन वार्षिक बजेटको २६.७४ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा कूल ऋण सेवा खर्च असोज मसान्तसम्म १.८० प्रतिशत रहेको छ।