उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढ्दै बजारमा उत्साहपूर्ण वातावरण देखिएको छ। अघिल्लो कारोबार दिन आइतबार सामान्य वृद्धि भएको नेप्से यस दिन भने ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंक बढेको छ।

मंगलबारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको ९२ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंक का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। त्यस्तै, राधी विद्युत कम्पनी र लुम्बिनी विकास बैंक का शेयरमूल्य क्रमशः ९.५ प्रतिशत र ९ प्रतिशत जति बढेका छन्।

उता, हिमालयन पावर पार्टनर को शेयरमूल्य ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रह्यो। यद्यपि कारोबार रकमका हिसाबले यही कम्पनी शीर्ष स्थानमा रह्यो, जसको २४ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यसपछि यूनियन हाइड्रोपावर (२३ करोड रुपैयाँ) र राधी विद्युत कम्पनी (२२ करोड रुपैयाँ) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

कुल १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने केवल व्यापार उपसमूह करिब १ प्रतिशतले घटेको छ।
सबैभन्दा बढी वृद्धि विकास बैंक उपसमूहमा ४.४७ प्रतिशत, त्यसपछि वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहहरूमा ३ प्रतिशतभन्दा बढी भएको छ।

लगातार केही दिनको स्थिर कारोबारपछि मंगलबारको यो उल्लेखनीय उछालले लगानीकर्तामा सकारात्मक वातावरण देखिएको बजार विश्लेषकहरूले बताएका छन्।