हल्ट भएपछि नेप्से आजका लागि बन्द

हल्ट भएपछि नेप्से आजका लागि बन्द

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) लगातार तेस्रो पटक हल्ट भएसँगै बिहीबारको कारोबार बन्द भएको छ ।

जेनजी आन्दोलनपछिको नोक्सानीले अर्थतन्त्रमा परेको नकारात्मक असर बजारमा प्रत्यक्ष देखिएपछि नेप्से खुलेको केही मिनेटमै बारम्बार सर्किट लाग्दै अन्ततः बन्द हुन पुगेको हो ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बजार रोकियो । २० मिनेटपछि खुलेको बजारमा थप १ प्रतिशतले गिरावट आएर कुल ५ प्रतिशत पुगेपछि फेरि ४० मिनेटका लागि कारोबार स्थगित भयो । तर ४० मिनेटपछि खुलेलगत्तै नेप्सेमा पुनः १ प्रतिशत गिरावट आउँदा सूचक ६ प्रतिशतले तल झर्‍यो र आजका लागि कारोबार पूर्ण रूपमा बन्द गरियो ।

नेप्सेले बजारमा अचानक ठूलो गिरावट वा वृद्धि हुँदा लगानीकर्तालाई निर्णय लिन समय दिन ‘सर्किट ब्रेकर’को व्यवस्था गर्दै आएको छ । तर आजको बजारमा भने तीनै तहका ब्रेकर पार भएका छन् ।

यस अवधिसम्म जम्मा ७२ करोड रुपैयाँको सेयर कारोबार मात्र भएको छ । सबैभन्दा ठूलो गिरावट व्यापार समूहको सूचकमा देखिएको छ, जसमा ९.३४ प्रतिशतले सूचक घटेको हो । बाँकी सबै समूहको सूचक पनि ऋणात्मक बनेको छ ।

सामान्यतया सरकार परिवर्तन, नीतिगत अस्थिरता वा ठूलो आर्थिक घटनापछि बजारमा यस्तै उतारचढाव हुने गर्छ । जेनजी आन्दोलनले अर्थतन्त्रलाई दशकअघिको अवस्थामा धकेलेको भन्दै लगानीकर्ताहरु बजारबाट स्टपलस गरेर निस्किन थालेका छन् । यसै कारण बजारमा ठूलो मात्रामा सेयर बिक्रीमा आएपछि समग्र सूचकमा तीव्र गिरावट आएको हो ।

आज लगानीकर्ताले सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा राखेका छन् ।