के हो चट्याङ, कसरी बच्ने ?

के हो चट्याङ, कसरी बच्ने ?

काठमाडौं : हाल नेपालमा चट्याङको सिजन चलिरहेको छ। दिनहुँजसो चट्याङका कारण जनधनको क्षति हुने खबरहरू सार्वजनिक भइरहेका छन्। गत शनिबार मात्र सप्तरीमा चट्याङ लागेर एक सात वर्षीया बालिकाको मृत्यु भयो भने अर्का एक सात वर्षीय बालक घाइते भए।

नेपालमा चट्याङको मुख्य सिजन अप्रिलदेखि सेप्टेम्बरसम्म रहने गर्दछ। यो प्रि-मनसुन र मनसुनको समय हो, जसमा वायुमण्डल अस्थिर रहने भएकाले मेघगर्जनसहित वर्षाको सम्भावना उच्च हुन्छ। विशेषगरी वैशाखदेखि साउन महिनासम्म दिउँसो र साँझपख चट्याङ बढी पर्ने जोखिम हुन्छ।

चट्याङ के हो?

प्राध्यापक रामचन्द्र अधिकारीका अनुसार चट्याङ एक प्रकारको विद्युत आवेश हो, जुन बादलहरूबीचको घर्षणबाट उत्पन्न हुन्छ। जब विपरीत आवेश भएका बादलहरू जुध्छन्, त्यहाँ १२ करोड ५० लाख भोल्ट बराबरको करेन्ट उत्पन्न हुन्छ र ३० हजार डिग्री सेल्सियस तापक्रम पैदा हुन्छ—जुन सूर्यको तापभन्दा पनि बढी हुन्छ। यो ऊर्जा आगोको मुस्लोका रूपमा जमिनदेखि करिब १० किलोमिटर माथिसम्म फैलिन्छ।

विशेषगरी ‘कुमुलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ जमिनमा खस्दा घर, टावर, रूख र मान्छेहरूमा आघात पुग्छ, जसले ठूलो क्षति पुर्याउन सक्छ।

कसरी बच्ने?

चट्याङबाट जोगिनको लागि केही सावधानी आवश्यक हुन्छः

-चट्याङ परेको बेला खुला ठाउँमा नहिँड्ने

-रूखको छेउमा नबस्ने

-गाईभैंसी चराउने, खेतमा काम गर्ने वा हिँडडुल गर्न जाँदा मौसमको स्थिति बुझ्ने

-चट्याङ पर्ने सम्भावना भएको बेलामा मोबाइल, टिभी, रेडियो जस्ता इलेक्ट्रोनिक उपकरणहरू प्रयोग नगर्ने

-घरको सर्किट र वायरिङ समय समयमा जाँच गरिरहने

-घरमा राम्रो ‘अर्थिङ’ प्रणाली जडान गराउने

-टावर, अग्ला भवन वा चट्याङग्रस्त क्षेत्रमा सावधानी अपनाउने

अर्थिङको भूमिका

अर्थिङ प्रणालीले घरभित्र प्रवेश गर्ने करेन्टलाई जमिनमा छुट्याइदिन्छ, जसले चट्याङको असर कम गर्न सहयोग गर्छ। घरमा अर्थिङ नभएमा चट्याङले सिधै इलेक्ट्रिक सर्किटमा क्षति पुर्याउँछ, जसले आगलागी वा करेन्ट लाग्ने सम्भावना बढाउँछ।

प्राध्यापक अधिकारी भन्छन्, “चट्याङ पर्दा आवाजले होइन, बिजुली चम्किने क्षणमै खतरा हुन्छ। त्यसैले त्यतिबेलाको सावधानी नै जीवन रक्षा गर्ने उपाय हो।” चट्याङ प्राकृतिक विपद् हो जसको प्रभाव गम्भीर हुन्छ। सजगता, सावधानी र पूर्वतयारीले यसको असरबाट आफू र आफ्नो परिवारलाई जोगाउन सकिन्छ।