

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरुद्ध अमेरिकाभरि व्यापक विरोध प्रदर्शन भएको छ। शनिबार अमेरिका भरिका ५० वटै राज्यका करिब १,४०० स्थानमा आयोजित प्रदर्शनमा झण्डै ६ लाख नागरिक सडकमा उत्रिएका हुन्।
सिएनएनका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको तीन महिनामै पहिलोपटक यति ठूलो जनप्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले “ह्यान्ड्स अफ” लेखिएका प्लेकार्ड बोकेर सरकारको नीतिविरुद्ध आवाज उठाएका थिए।
ट्रम्पको आप्रवासी नीतिबाट सुरु भएको असन्तोष संघीय सहायता कटौती, छिमेकी मुलुकहरूसँगको व्यवहार, र अर्बपतिहरूको सत्ता कब्जासम्म पुग्दा नागरिक आक्रोशमा परिणत भएको हो। इलन मस्कको भूमिकालाई लिएर समेत असन्तोष झनै चुलिएको देखिएको छ।
डोज प्रमुखमा सिनेटको अनुमोदनबिना मस्कलाई नियुक्त गर्नु, उनको सल्लाहमा संघीय कर्मचारी कटौती र युएसएआइडीका कार्यक्रमहरू रद्द गर्नु ट्रम्प प्रशासनको आलोचना गरिने मुख्य कारण बनेका छन्।
प्रदर्शनकारीहरूले तीन प्रमुख माग अघि सारेका छन्— अर्बपतिहरूको सत्ता कब्जा रोक्नुपर्ने, जनसेवामा कटौती बन्द हुनुपर्ने, र आप्रवासी तथा विविध समुदायमाथिको आक्रमण रोक्नुपर्ने।
यसैबीच, ट्रम्पको पारस्परिक भन्सार (रेसिप्रोकल ट्यारिफ) नीतिका कारण महँगी बढ्ने चिन्ताले पनि जनतामा असन्तोष बढाएको छ। ट्रम्पले भने आफ्नो नीति अन्ततः अमेरिकाको हितमा हुने दाबी गर्दै आएका छन्। शनिबार अमेरिकासँगै लन्डन र पेरिसमा पनि ट्रम्प विरोधी प्रदर्शन भएका छन्।