लँगुटिया मित्र : बाल्यकालको साथीदेखि आजीवन सम्बन्धसम्म

लँगुटिया मित्र : बाल्यकालको साथीदेखि आजीवन सम्बन्धसम्म

-भक्तराज देव-

“लँगुटिया” शब्दको व्युत्पत्ति हेर्दा, यसको अर्थ “बचपनको साथी” भए पनि प्रायः मजाक वा अपशब्दका रूपमा प्रयोग गरिन्छ। तर, यसको वास्तविक अर्थ गहिरो मित्रतालाई दर्शाउने शब्दका रूपमा बुझ्न सकिन्छ। जब दुई जना साथीले बाल्यकालमा सँगै हुर्किएर, एउटै परिवेशमा जीवन बिताउँछन्, उनीहरूको सम्बन्ध लँगुटिया मित्रको रूपमा चिनिन्छ।

लँगुटिया मित्रताको विशेषता

१. सुख-दुःखको साथी – साँचो मित्रले हरेक परिस्थितिमा साथ दिन्छ।
२. त्याग र समर्पण – मित्रता त्याग र निस्वार्थ प्रेममा आधारित हुनुपर्छ।
३. उमेर र शिक्षा – समान उमेर र अध्ययनको अनुभव मित्रतालाई अझ प्रगाढ बनाउँछ।
४. इमानदार र विश्वासिलो – मित्रतामा झूट, छलकपट हुन हुँदैन।
५. पृथक सिद्धान्त स्वीकार्यता – विचारधारा फरक भए पनि मित्रता अटल रहन्छ।
६. संस्कार र धैर्यता – संस्कारी र सहनशील व्यक्ति साँचो मित्र हुन सक्छ।
७. गोपनीयताको सम्मान – एक-अर्काको व्यक्तिगत र पारिवारिक गोपनीयतालाई सुरक्षित राख्नुपर्छ।
८. आत्मबल र मातृभूमिप्रति सम्मान – मित्रता बलियो आत्मविश्वास र देशप्रेममा आधारित हुनुपर्छ।
९. आर्थिक असमानता अस्वीकार्य – मित्रतामा धनी-गरिबको भेदभाव हुँदैन।
१०. सत्यता र आदर्शवाद – मित्रता सत्य, नैतिकता, र इमानदार व्यवहारमा आधारित हुनुपर्छ।

लँगुटिया मित्रता : प्रेम, विनोद र सत्कारको प्रतीक

“लँगुटिया मित्र” भन्ने शब्दले कहिलेकाहीं विनोदपूर्ण रूपमा प्रयोग गरिए पनि, यसको वास्तविक अर्थ गहिरो मित्रता, प्रेम, र आपसी समझदारीलाई दर्शाउँछ। कृष्ण-सुदामाको मित्रता यसको उत्तम उदाहरण हो। मित्रता भनेको केवल शब्द वा सम्बन्ध होइन, यो आजीवन एकअर्काप्रति समर्पित भावनाको सुत्र हो।

तर, यो शब्द प्रयोग गर्दा सामाजिक सन्दर्भ र सभ्यता पनि ध्यान दिनुपर्छ। मित्रताको महत्त्व बुझेर सही सन्दर्भमा प्रयोग गरिनु नै उपयुक्त हुनेछ।