


-रमेशचन्द्र घिमिरे-
‘घर बनाउने केले हो ?’
सोध्नुभयो आमाले
भन्दिनुभो बाबाले
‘पैसै-पैसाले !’
‘ढुङ्गा, इँटा, सिमन्टी
गिटी बालुवाले
बल्ल घर बन्दछ’
भन्छन् ठेक्दार लाले
‘हुन्छ घर नक्कले
पैसै-पैसाले !’
‘अझै राम्रो देखिन्छ
झ्याल ढोका हाले’
काठे कर्मी दाइले
यसो भन्न थाले
‘जोहो गर्नू काठको
पैसै-पैसाले !’
‘रङ्ग किनी ल्याउनू है
अल्लि राम्रो खाले’
पेन्टर दाइले भनेका
‘हुन्छ झालेमाले
पार्नु पर्छ चिटिक्क
पैसै-पैसाले !’
घर हुन्छ उज्यालो
बत्तीसत्ती बाले
पानी खान पाइन्छ
धारा जोड्दिनाले
बल्ल घर बन्छ रे
पैसै-पैसाले !
न त गाह्रो लगाएँ
न त भित्तो टालेँ
मुछिएन सिमन्टी
न बिजुली बालेँ
मैले घर बनाएँ
आफ्नै आइडियाले
दङ्ग पर्दै भन्नुभो
मामाले र काकाले
‘कत्ति कुरा जानेकी
नानी सूचनाले
साँच्चै घर बनेछ
पैसै-पैसाले !’
भोर्लेटार, लमजुङ