

काठमाडाैं । नेफ्स्कूनको आयोजनामा काठमाडौंमा जारी दुई दिवसीय साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी देशभरका बचत तथा ऋण सहकारी संस्थाका ५ सय भन्दा बढी व्यवस्थापन प्रमुखहरुको उत्साहपूर्ण सहभागिताका साथ ६ सुत्रीय साझा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
बचत तथा ऋण सहकारी अभियानका नविनतम र सफल राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र समाधानका उपाय सहितका महत्वपूर्ण ९ विषयवस्तुमाथी कार्यपत्र प्रस्तुतीकरण र अन्तरक्रियात्मक गोष्ठी समापनको प्रमुख आतिथ्यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गर्नुभएको थियो ।
गोष्ठी समापन समारोहको अवसरमा बोल्दै अध्यक्ष बडालले बचत तथा ऋण सहकारी अभियानको विकास र प्रबद्र्धनका लागि नेफ्स्कूनले सफलतापूर्वक सम्पन्न गरेको यो ऐतिहाँसिक गोष्ठी मुलुकको दीगो विकास लक्ष्य प्राप्तिमा र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्ने दिशामा समेत महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीको माध्यमबाट महिलामा जागरण र सशक्तिकरण भएको प्रशंङ्ग उल्लेख गर्दै आज महिला पैसाको लागि हात थाप्ने होइन हात फैलायर पैसाको कारोबार गर्न सक्षम भएको बताउनुभयो ।
नेफ्स्कूनका पूर्व महासचिव एवं केन्द्रीय सांसद घनश्याम खतिवडाले मुलुकको आर्थिक विकासमा सहकारी दर्विलो खम्बाको रुपमा अगाडि बढिरहेको बताउँदै आर्थिक बर्ष २०७६ ०७७ को बार्षिक बजेट बक्तव्यले पनि सहकारीको विकास र प्रबद्र्धनका लागि महत्वपूर्ण विषयहरु अंगिकार गरेको बताउनुभयो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सहकारीमार्फत युवा लक्षित कार्यक्रमहरु स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहमा पुर्याउन सहज हुने बताउनुभयो ।
गोष्ठी समापन समारोहका अन्य अतिथिहरुमा रजिष्ट्रार डा. टोकराज पाण्डे, राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, अमेरिकन हेरिटेज क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत ब्रुस के., नेफ्स्कूनका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, लेखा संयोजक लगायतको उपस्थिति रहेको थियो ।
दुई दिने उक्त गोष्ठीबाट जारी गरिएको ६ सुत्रीय साझा घोषणापत्र नेफ्स्कूनका महासचिव एवं गोष्ठी आयोजना कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले बाचन गरेर सुनाउनुभएको थियो भने गोष्ठीका सम्पूर्ण सहभागीहरुबाट घोषणापत्र स्वीकृति र प्रभावकारी कार्यान्वयका लागि सहमती जनाउनुभएको थियो ।
गोष्ठी समापन सत्रमा बोल्दै संघका अध्यक्ष डी.बी. बस्नेतले गोष्ठीको सफलतापूर्वक सञ्चालनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहकारी संघ संस्था, अन्तराष्ट्रिय प्राविधिक सहयोग निकायहरु, सञ्चारकर्मी र सम्पूर्ण साकोस अभियानकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।