Skip to content

कर्णालीले रास्वपालाई मत नदिए पनि विकास प्राथमिकतामा रहन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीमा आफ्नो पार्टीको राजनीतिक उपस्थिति कमजोर भए पनि विकासका सवालमा प्रदेशलाई प्राथमिकतामा राख्ने बताएका छन्।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीको प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर हुने अवस्था रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पुर्‍याउन नसकिएको उनको भनाइ थियो।

‘हाम्रो आवाज कर्णालीको दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौँ। कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु, हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ,’ उनले भने।

रास्वपा सरकारमा रहुन्जेल कर्णालीका जनताले आफ्नो पार्टीलाई एक मत पनि नदिए पनि प्रदेश विकासको प्राथमिकतामा रहने लामिछानेले बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायो भने पुल बन्छ, बाटो बन्छ, घरघरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ,’ उनले भने।

कर्णालीका मुद्दालाई राष्ट्रियस्तरमा उठाउने प्रतिबद्धतासहित आफूहरू आएको उल्लेख गर्दै लामिछानेले राजनीति चुनावका लागि मात्रै गर्ने विषय नभएको बताए।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय