

सम्झौताअनुसार तीन महिनाभित्र डिजाइन तयार गर्नुपर्ने भए पनि सडक विभागले डिजाइन अन्तिम रूप दिन नौ महिनाभन्दा बढी समय लगाएको उनले बताए।
शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने कन्काई नदीमाथिको ७१५ मिटर लामो पुल निर्माण भई २०८३ असारको अन्तिम सातादेखि नै यातायात सञ्चालनमा आइसकेको छ। अहिले पुलमा रङरोगन र एप्रोच सडक निर्माणको काम भइरहेको छ।
पुल निर्माणको लागत भ्याट र पीएससहित १ अर्ब १२ करोड ५२ लाख ८२ हजार रुपैयाँ रहेको छ। कम्पनीका सञ्चालक शर्माले निर्माणका क्रममा आफूहरूमाथि थप आर्थिक भार परे पनि अनुभव र साहसका साथ काम सम्पन्न गरेको बताए। असार मसान्तदेखि नै सवारीसाधन सञ्चालन भइरहेकाले पुल हस्तान्तरणसरह भइसकेको उनको भनाइ छ।
‘समयमै काम सकिएको विषयमा चौतर्फी चर्चा भएको छ। त्यसले मलाई हौसला दिएको छ। हामीले ४२ महिनाको सम्झौता गरेका थियौँ। ६ महिना निर्माण व्यवसायीले डिजाइनमा खर्च गर्ने, दुई महिना सडक विभागले खर्च गर्ने र ३४ महिनामा पुल निर्माण सम्पन्न गर्ने भनिएको थियो। तर, हामीले करिब ३० महिनामै निर्माणको काम सकेका छौँ,’ उनले भने।
लामो निर्माण अनुभवका कारण निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न सफल भएको शर्माले बताए। सबै पक्षबाट सहयोग प्राप्त भए यस्ता आयोजना अढाइ वर्षभित्र सम्पन्न गर्न सकिने उनको भनाइ छ। उनले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकारले आवश्यक बजेट समयमै विनियोजन गर्नुपर्ने सुझावसमेत दिए।