मोदीलाई प्रधानमन्त्री बालेनले दिएको शालिग्राम सजाउने नेपाली कम्पनी हिमालयन बुलियन

मोदीलाई प्रधानमन्त्री बालेनले दिएको शालिग्राम सजाउने नेपाली कम्पनी हिमालयन बुलियन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिएको विशेष शालिग्राम उपहारलाई आकर्षक स्वरूप दिने काम नेपाली कम्पनी हिमालयन बुलियनले गरेको छ। मुस्ताङबाट काठमाडौं ल्याइएको दुर्लभ शालिग्रामलाई कम्पनीले १२ घण्टामै चाँदीको आसन, कलात्मक सजावट र पारदर्शी सिसाको आवरणसहित विशेष सोभेनरका रूपमा तयार पारेको हो।

भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, पशुपतिनाथको चन्दन र विशेष शालिग्राम उपहार दिएका थिए। त्यसमध्ये शालिग्रामको सजावटदेखि अन्तिम फिनिसिङसम्मको जिम्मेवारी हिमालयन बुलियनले सम्हालेको थियो।

भगवान् विष्णुको स्वरूपका रूपमा पूजिने शालिग्राम कालीगण्डकी नदीमा पाइने धार्मिक तथा सांस्कृतिक महत्वको शिला हो। गत भदौमा दशैंअघि मुस्ताङमा फेला परेको यो शालिग्राम सामान्य गोलाकार शिलाभन्दा फरक रहेको बताइएको छ। यसमा प्राकृतिक रूपमै गणेश, शिव, विष्णु, वराह, अर्धनारीश्वरलगायत सातभन्दा बढी देवीदेवताका आकृति र ६ वटा चक्र देखिने दाबी गरिएको छ।

प्रधानमन्त्री कार्यालयबाट उपहारका लागि शालिग्राम छनोट भएपछि भ्रमणको पाँच दिनअघि मुस्ताङबाट काठमाडौं ल्याइएको थियो। काठमाडौं आइपुगेपछि यसको आकर्षक सजावट गर्ने जिम्मा हिमालयन बुलियनलाई दिइयो। कम्पनीका क्रिएटिभ टिमका नीरन महर्जनका अनुसार शनिबार कार्यालय बन्द भए पनि प्रधानमन्त्रीका लागि उपहार तयार पार्न कर्मचारी बोलाएर काम गरिएको थियो।

‘हाइप्रोफाइलबाट अर्डर आएपछि प्रिमियम दिनुपर्ने भएकाले चाँदीको लोटसको आसन बनायौं। शालिग्राम विष्णु भगवान्को अवतार भएकाले लोटसमा पिपलको पातजस्तो डिजाइन बनायौं,’ महर्जनले भने, ‘हतारहतारमा बनाउँदा पनि राम्रो काम भएको छ। प्रधानमन्त्री कार्यालय पनि सन्तुष्ट भएको छ।’

प्रधानमन्त्री कार्यालयले एआईबाट तयार पारिएको अवधारणा, शालिग्राम र त्यससम्बन्धी सामग्री उपलब्ध गराएको थियो। तर, बक्सादेखि सम्पूर्ण सजावटको डिजाइन कम्पनीले नै गरेको महर्जनले बताए।

शालिग्रामलाई कुनै काँटछाँट नगरी प्राकृतिक स्वरूपमै राखिएको छ। त्यसलाई चाँदीको चौकी र कमलको फूल आकारको आसनमाथि सजाइएको छ। दुवैतर्फ मयूरका प्वाँखजस्ता कलात्मक चाँदीका आकृति राखिएका छन्। गाढा नीलो मखमली गद्दी र काठको आधारले यसको सौन्दर्य थपेको छ।

धुलो, आर्द्रता र बाह्य स्पर्शबाट सुरक्षित राख्न खोल्न र लगाउन मिल्ने पारदर्शी सिसाको आवरणसमेत बनाइएको छ। सिसाको माथिल्लो भागमा कमलको कोपिला र कलश आकारको सजावट राखेर यसलाई सानो मन्दिरजस्तो स्वरूप दिइएको छ। उपहार तयार पार्न डेढ तोला चाँदी प्रयोग भएको कम्पनीले जनाएको छ।

उपहारमा नेपाल र भारतको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धसमेत झल्काइएको छ। यसको अग्रभागमा दुवै देशका राष्ट्रिय झन्डासहित नेपालको मन्दिर, बौद्ध स्तूप र हिमालका चित्र छन्। पछाडिको भागमा शालिग्रामको धार्मिक महत्व र उत्पत्तिस्थलबारे अंग्रेजीमा विवरण लेखिएको छ।

त्यस्तै, एकातिर स्वयम्भूनाथ महाचैत्य, जानकी मन्दिर र ताजमहलका चित्र कुँदिएका छन् भने अर्कोतिर नेपाली प्यागोडा शैलीको मन्दिर, हिमशृङ्खला र भारतको इन्डिया गेटको आकृति राखिएको छ। प्रधानमन्त्री बालेनले मोदीलाई दिने उक्त उपहार हिमालयन बुलियनले भ्रमणकै दिन आइतबार दिउँसो विमानस्थलमा पुर्‍याएको थियो।

के हो हिमालयन बुलियन ?

सन् २००० अर्थात् वि.सं. २०५७ मा स्थापना भएको हिमालयन बुलियन कम्पनी लिमिटेड चाँदीको कारोबारमा सक्रिय कम्पनी हो। काठमाडौंको ज्ञानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीको न्युरोडमा आउटलेटसमेत छ। कम्पनीले ९९.९९ प्रतिशत शुद्धता प्रमाणित चाँदीका बार, सिक्का तथा ‘अजया’ ब्रान्डअन्तर्गत कलात्मक गरगहना र सजावटी सामग्री उत्पादन गर्दै आएको छ।

डिजिटल कारोबार विस्तार गर्ने उद्देश्यसहित कम्पनीले वि.सं. २०८३ को घटस्थापनाका दिन ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो। एपमार्फत ग्राहकले केवाईसी प्रमाणीकरण गरी दैनिक चाँदीको मूल्य हेर्न, १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यसैगरी न्यूनतम १०० रुपैयाँदेखि किस्ताबन्दीमा चाँदी जम्मा गर्ने योजनामा समेत सहभागी हुन सकिन्छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा एप प्रयोगकर्तालाई कारोबारको स्तरअनुसार एक लाखदेखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ। कम्पनीले १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न ज्योति क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

२५ वर्षभन्दा लामो अनुभव रहेको दाबी गर्ने हिमालयन बुलियनले आफूलाई चाँदीको सामान्य विक्रेताभन्दा फरक रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। ‘हामी चाँदीमा उत्कृष्टताको मानक परिभाषित गर्छौं’ भन्ने नारासहित कम्पनीले पारदर्शिता र प्रमाणित उच्च शुद्धताको चाँदीमार्फत लगानीकर्ताको विश्वास कायम गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।