नेप्से १५ अंकभन्दा बढीले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

नेप्से १५ अंकभन्दा बढीले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से २.२६ अंकले बढेको थियो।

मंगलबार बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो।

आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ समूहले बजार वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। सबैभन्दा धेरै पुँजीकरण रहेको बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन्।

यता माइक्रोफाइनान्स ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रहेको छ। यस समूहका कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँको कारोबार हुँदा बैंकिङ समूहका कम्पनीको १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ।

मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९ र श्वेतगंगा हाइड्रोको २.७८ प्रतिशतले मूल्य बढेको छ।

त्यस्तै मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ। मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक क्रमशः अगाडि रहेका छन्।