भारतसँग ९.४ अर्ब डलरको व्यापार, लगानी भने एक अर्बभन्दा कम

भारतसँग ९.४ अर्ब डलरको व्यापार, लगानी भने एक अर्बभन्दा कम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल-भारतबीच घनिष्ठ आर्थिक सम्बन्ध भए पनि भारतीय लगानी अपेक्षाअनुसार नेपालमा आउन नसकेको बताएका छन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आयोजित इन्डिया-नेपाल बिजनेस राउन्डटेबलमा बोल्दै श्रेष्ठले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको जानकारी दिए । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ जाने गरेको उनले बताए ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता भए पनि नेपालमा भारतीय लगानीको वास्तविक परिमाण एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको उनले उल्लेख गरे । विगत दुई दशकदेखि अपेक्षित भारतीय निजी क्षेत्रको लगानी नेपालमा आउन नसकेको उनको भनाइ थियो ।

नेपालले विदेशी लगानी आकर्षित गर्न १०२ वटा उद्योग तथा व्यवसायका क्षेत्रमा स्वतः स्वीकृति प्रणाली लागू गरेको, लगानीको सीमा हटाएको र एकद्वार सेवा केन्द्रमार्फत प्रक्रिया सहज बनाएको उनले बताए । साथै, ५९ वटा ऐन तथा करिब ५०० कानुनी दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारीलाई व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा विस्तार गर्नुपर्ने प्रस्ताव राखे । उनले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन गुणस्तर प्रमाणीकरणमा पारस्परिक मान्यता, रेल तथा बन्दरगाह पूर्वाधार विस्तार, सीमा व्यवस्थापन आधुनिकीकरण र लगानी संरक्षण आवश्यक रहेको बताए ।

नेपाली जुट, फलामे छड तथा इस्पात उद्योगले भारतीय व्यापार नीतिका कारण भोगिरहेका समस्या समाधान गर्न पनि उनले आग्रह गरे । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच संयुक्त कार्यदल गठन गरी सरकारलाई सुझाव दिनुपर्ने प्रस्ताव गरे ।

‘भूगोलले हामीलाई छिमेकी बनायो, इतिहासले परिवार बनायो । अब व्यवसायले हामीलाई प्रगतिका साझेदार बनाउनुपर्छ,’ श्रेष्ठले भने । उनले नेपाल र भारतले आ–आफ्ना आर्थिक विकासका लक्ष्य हासिल गर्न संवादलाई व्यावसायिक सम्झौता र सम्भावनालाई ठोस परियोजनामा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।