रेमिट्यान्स २७ प्रतिशत बढ्दा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो

रेमिट्यान्स २७ प्रतिशत बढ्दा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो
काठमाडौं । रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएपछि नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा शोधनान्तर स्थिति पनि ३ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ । विद्यमान सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स ७ खर्ब नाघ्यो

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ रहेको छ ।

चालु खाता र शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब २८ अर्ब रुपैयाँ थियो । त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो ।

पर्यटनबाट प्राप्त हुने भ्रमण आय ३२.७ प्रतिशतले बढेर २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । भ्रमण व्यय भने १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । वैदेशिक शिक्षाका लागि बाहिरिने रकम १४.७ प्रतिशतले घटेर ३६ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । यसैगरी, खुद प्रत्यक्ष वैदेशिक लगानी १३७.६ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

निर्यात ५७ प्रतिशत बढ्दा आयात ३८ प्रतिशत वृद्धि

बाह्य क्षेत्रका सूचक सकारात्मक देखिए पनि वैदेशिक व्यापार घाटा भने बढेको छ । राष्ट्र बैंकका अनुसार तीन महिनामा कुल वस्तु निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । चीनतर्फको निर्यात २५९.७ प्रतिशत, भारततर्फ ६१.७ प्रतिशत र अन्य मुलुकतर्फ ३३.८ प्रतिशतले बढेको छ ।

भटमासको तेल, पोलिष्टर धागो, पार्टिकल बोर्ड, जिंक सिट र पाम तेलको निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । यता, कुल वस्तु आयात ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । भारतबाट हुने आयात ४१.७ प्रतिशत, चीनबाट २८ प्रतिशत र अन्य मुलुकबाट ३९.७ प्रतिशतले बढेको छ ।

पेट्रोलियम पदार्थ, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, रासायनिक मल, कच्चा भटमासको तेल र मेसिनरीको आयात बढेको छ । आयातको तुलनामा निर्यातको आकार निकै सानो हुँदा तीन महिनामै व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यद्यपि, निर्यात र आयातको अनुपात १५.५ प्रतिशतबाट सुधार भएर १७.६ प्रतिशत पुगेको छ ।

व्यापारको सर्त १०.५ प्रतिशतले घट्यो

नेपालको निर्यातभन्दा आयात हुने वस्तुको मूल्य बढी दरले बढ्दा व्यापारको सर्तमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क ७.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १९.८ प्रतिशतले बढेको छ । यसले नेपालको व्यापारको सर्त १०.५ प्रतिशतले घटाएको छ ।

कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१ प्रतिशत र मध्यवर्ती वस्तुको हिस्सा २८.९ प्रतिशत रहेको छ । पुँजीगत वस्तुको हिस्सा भने ०.१ प्रतिशत मात्रै छ । आयाततर्फ मध्यवर्ती वस्तुको हिस्सा ४९.९ प्रतिशत, अन्तिम उपभोग्य वस्तुको ४१.१ प्रतिशत र पुँजीगत वस्तुको ९ प्रतिशत रहेको छ ।

समग्रमा रेमिट्यान्सको वृद्धिले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिलाई बलियो बनाएको छ । तर बढ्दो आयात, व्यापार घाटा र निर्यातमा पुँजीगत तथा उत्पादनमूलक वस्तुको न्यून हिस्साले नेपालको बाह्य क्षेत्रको दीर्घकालीन स्थायित्वमा चुनौती कायमै रहेको देखिन्छ ।