रास्वपाको नेतृत्व विकास वडा तहबाटै सुरु गर्नुपर्छ : रवि लामिछाने

रास्वपाको नेतृत्व विकास वडा तहबाटै सुरु गर्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्। उनले वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड दिएका छन्।

निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा सभापति लामिछानेले पार्टीमा जिम्मेवारी जुनसुकै बेला आउन सक्ने भन्दै नेतृत्व सम्हाल्न सक्ने क्षमता विकास गर्न कार्यकर्तालाई आग्रह गरे।

पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक रहेको उनको भनाइ थियो। उनले पार्टीको सदस्य वा समर्थक भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नहुने स्पष्ट पारे।

‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ। सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्न सकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ,’ उनले भने।

लामो समयदेखि निर्वाचन क्षेत्रमा आउन नसकेको प्रसंग उल्लेख गर्दै लामिछानेले आफू नागरिकको सम्पर्कबाट टाढा नरहेको बताए। पार्टीको ठूलो संगठनात्मक संरचना, सांसदहरूको व्यवस्थापन, पार्टी निर्माण र सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने भएकाले व्यस्तता बढेको उनको भनाइ थियो।

‘म तपाईँहरूको सम्पर्कबाट टाढा छैन। विभिन्न जिम्मेवारी छन्। यत्रो ठूलो पार्टी, यत्रा सांसद, यी सबै र पार्टीको यत्रो ठूलो संरचना चलाउनुपर्नेछ। अस्ति भर्खरै चितवनमा हामीले पहिलो ऐतिहासिक महाधिवेशन यहीँबाट गर्‍यौँ। हामीले पार्टी निर्माण गर्नुपर्नेछ। कहीँ न कहीँ पार्टीले सरकारलाई सकेको समन्वय गर्नुपर्नेछ,’ उनले भने।

सभापति लामिछानेले पार्टीको समग्र संरचना निर्माण तथा विभिन्न क्षेत्रसँग समन्वय गर्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए। स्थानीय विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्ने उनको जोड थियो।

नागरिकले हरेक विषयमा सांसद नै खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहमै सक्षम नेतृत्व विकास गर्नुपर्ने बताए। वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्वको पहिचान र विकासमा ध्यान दिन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।