विराटनगरमाथि काठमाडौँको ९ विकेटको शानदार जित, वार्नर र वसिस्टोको अविजित साझेदारी

विराटनगरमाथि काठमाडौँको ९ विकेटको शानदार जित, वार्नर र वसिस्टोको अविजित साझेदारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९.४ ओभरमा एक विकेट गुमाएर सहजै पूरा गर्‍यो । काठमाडौँको जितमा अस्ट्रेलियन खेलाडी डेविड वार्नर र विलियम वसिस्टोले उत्कृष्ट ब्याटिङ गरे ।

दोस्रो विकेटका लागि वार्नर र वसिस्टोले ६९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । वार्नर २४ बलमा २ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहे । त्यस्तै, वसिस्टोले २४ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए ।

काठमाडौँका ओपनर साहिल पटेल १० रन बनाएर आउट भए । उनलाई अपराजित पौडेलले बोल्ड गरेका थिए । यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको काठमाडौँले दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । बिहीबारको जितसँगै काठमाडौँले ४ अंक जोडेको छ ।

दोस्रो जितपछि काठमाडौँसँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको समान ४–४ अंक भएको छ । नेट रनरेटका आधारमा काठमाडौँ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

साविक विजेता लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ । चितवन राइनोजले ३ अंक जोडेको छ भने तीन खेलमा पराजय बेहोरेको पोखरा एभेन्जर्स अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।