एनपीएल अंकतालिकामा फेरबदल : लुम्बिनी शीर्ष स्थानमा कायमै, काठमाडौँ दोस्रोमा उक्लियो

एनपीएल अंकतालिकामा फेरबदल : लुम्बिनी शीर्ष स्थानमा कायमै, काठमाडौँ दोस्रोमा उक्लियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारका दुई खेल सकिएसँगै अंकतालिकामा फेरबदल आएको छ । पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको शानदार जित निकालेको छ ।

बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स जारी सिजनकै न्यून स्कोरमा समेटिएको थियो । काठमाडौँ गोर्खाजले विराटनगरलाई ८३ रनमै अलआउट गर्दै तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो ।

८४ रनको लक्ष्य काठमाडौँले एक विकेटको क्षतिमा सहजै पूरा गर्‍यो । काठमाडौँका लागि अस्ट्रेलियन खेलाडी डेविड वार्नर र विलियम बसिस्टोले अविजित ६९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै काठमाडौँ गोर्खाज ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको साविक विजेता लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

अंकतालिकामा कर्णाली याक्स, काठमाडौँ गोर्खाज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको समान ४–४ अंक रहेको छ । तर, नेट रनरेटका आधारमा काठमाडौँ दोस्रो, कर्णाली तेस्रो, जनकपुर चौथो, विराटनगर पाँचौँ र सुदूरपश्चिम छैटौँ स्थानमा छन् ।

त्यस्तै, ३ अंक जोडेको चितवन राइनोज सातौँ स्थानमा रहँदा अंकविहीन पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ ।

बिहीबारको नतिजाले शीर्ष स्थानको लुम्बिनीलाई थप मजबुत बनाएको छ भने काठमाडौँ गोर्खाज दोस्रो स्थानमा उक्लिएसँगै शीर्ष टोलीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ ।