नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कति लाग्छ दस्तुर ?

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कति लाग्छ दस्तुर ?

काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै टोल शुल्कको दर र सङ्कलन सुरु हुने मिति सार्वजनिक गरेको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा टोल शुल्क सङ्कलन गर्न लागिएको आयोजनाले जनाएको छ।

आयोजनाले काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ। सूचनाअनुसार काठमाडौँ भित्रिने सवारीसाधनले वर्गअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म तिर्नुपर्नेछ। त्यस्तै, काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि न्यूनतम ६० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म शुल्क तोकिएको छ।

आयोजनाले सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीधनी तथा चालकलाई निर्धारित सडक उपभोग दस्तुर बुझाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।