चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि, तीन दिन वर्षा र हिमपातको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि, तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको चक्रवातका कारण नेपालको वायुमण्डलमा बुधबारदेखि उच्च तहका बादल देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको हो। यसको प्रभाव बिहीबार कात्तिक १२ गतेदेखि क्रमशः बढ्दै जाने सम्भावना छ।

चक्रवातको प्रभावले बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

महाशाखाका अनुसार उक्त तीन दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।