एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

पोखराका लागि नटआउट रहेका अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलको सामना गरे। अर्का ओपनर मेहदी हसनले २१ बलमा ३२ रन जोडे। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाउँदा बंगलादेशी खेलाडी शाकिब अल हसनले १४ रनको योगदान दिए।

त्यस्तै, धनञ्जय लक्षणाले ११, सदिरा समराविक्रमाले ८ र ओपनर दिनेश खरेलले ४ रन बनाए। किरण ठगुन्न १ रनमा आउट भए। नटआउट रहेका बिपिन खत्रीले ५ रन बनाए। पोखराले अतिरिक्तबाट ९ रन पायो।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। सुदूरपश्चिमका स्कट कुग्लेइन भने महँगो साबित भए। उनले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए। अविनाश बोहरा, ईशान पाण्डे र सैफ जैबले विकेट लिन सकेनन्।

अब सुदूरपश्चिमले १४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।