हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको जानकारी गराएको जनाएको छ।

प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै विभागले उक्त अवधिभर पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिइसकेका पदयात्रीलाई समेत सम्भावित जोखिमबाट बच्न पदयात्रा नगर्न आग्रह गरिएको छ।

विभागका अनुसार कात्तिक १२ देखि १४ गतेसम्मका लागि निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति जारी नगरिने जानकारीसमेत गराइएको छ। विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई जारी सूचनाको पालना गर्न अनुरोध गरेको छ।

अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।