स्वदेशी विद्वानलाई भन्दा विदेशी लेखकलाई बढी महत्व दिन्छौँ : केपी ओली

स्वदेशी विद्वानलाई भन्दा विदेशी लेखकलाई बढी महत्व दिन्छौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान्, लेखक तथा चिन्तकलाई भन्दा विदेशी लेखकका विचार र रचनालाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताएका हुन्।

नेपाली समाजमा विदेशी लेखकका विचारलाई बढी उद्धृत गर्ने तर आफ्नै देशका विद्वान् तथा चिन्तकका योगदानलाई कम प्राथमिकता दिने प्रवृत्ति रहेको उनको भनाइ थियो।

‘हामी आफूकहाँ भएका विद्वान् त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीका उदाहरण बढी गर्नुभएको होला,’ ओलीले भने, ‘किनभने नेपालीले लेखेकोलाई त्यति विद्वान् हामी ठान्दैनौँ, त्यसकारण उदाहरण गरिरहनुपर्ने आवश्यकता पनि देख्दैनौँ। जतिसुकै विद्वान् किन नहोस्, जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण किन नहोस्, तर हामी विद्वान् लेखकहरूलाई अलिक बाहिरकै ठान्छौँ।’

ओलीले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिए। स्वदेशी लेखक तथा चिन्तकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनले बताए। उनले नेपाली लेखकहरूसँग बसेर छलफल गर्ने कार्ययोजना पनि सुनाए। स्वदेशी ज्ञान र बौद्धिक योगदानबारे विमर्श गर्न आफूले छिट्टै नेपाली लेखक तथा चिन्तकहरूसँग छलफल गर्ने तयारी गरेको उनको भनाइ थियो।