

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर २६०० विन्दुमुनि झरेको छ। नेप्से नौ कारोबार दिनपछि २६०० विन्दुमुनि बन्द भएको हो। यसअघि भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।
बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०२ अंक, फ्लोट इन्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेका छन्।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारबाट ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ।
बुधबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत र घलेम्दी हाइड्रोको करिब साढे ७ प्रतिशत बढेको छ। मूल्य घटेका कम्पनीहरूको गिरावट भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ र मञ्जुश्री फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। जलविद्युत र म्युचुअल फन्ड उपसमूहको परिसूचक पनि सामान्य अंकले बढेको छ।