नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोडमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से सोमबार भने घटेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.३४ अंक, फ्लोट इन्डेक्स १.११ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ३५७ स्टकको ५८ हजार ५०० पटकको कारोबारबाट ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को मूल्य १२.१७ प्रतिशतले बढेको छ। त्यस्तै, ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत तथा ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ को मूल्य करिब ९ प्रतिशतले बढेको छ।

यता कारोबारमा आएको हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको २९ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा हाथवे इन्भेस्टमेन्टको करिब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घटेका छन् भने एक उपसमूहको सूचक बढेको छ। व्यापार उपसमूहको सूचक सामान्य बढेको हो। यस दिन निर्जीवन बीमा उपसमूहको सूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ। त्यस्तै, जलविद्युत् र लगानी उपसमूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।