जीवनरक्षक औषधिदेखि पुरातात्त्विक सम्पदासम्म कर छुट

जीवनरक्षक औषधिदेखि पुरातात्त्विक सम्पदासम्म कर छुट

काठमाडौं । सरकारले जीवनरक्षक औषधि, स्वास्थ्य सामग्री, सुरक्षा उपकरण तथा विदेशबाट फिर्ता ल्याइएका ऐतिहासिक सम्पदाको आयातमा पूर्ण कर तथा महसुल छुट दिएको छ।

अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गर्दै अन्तर्राष्ट्रिय संघ–संस्था, मित्रराष्ट्र तथा विभिन्न नियोगबाट अनुदान र सहयोगस्वरूप प्राप्त सामग्रीको आयातमा यस्तो छुट दिएको हो।

राजपत्रमा प्रकाशित २६ वटा छुट्टाछुट्टै सूचनामार्फत स्वास्थ्य, सुरक्षा, शिक्षा तथा सांस्कृतिक सम्पदा पुनर्स्थापनासँग सम्बन्धित सामग्रीमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, शुल्क तथा दस्तुर पूर्ण रूपमा छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

स्वास्थ्य क्षेत्रमा युनिसेफ नेपाल, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र यूएसएडलगायत संस्थाबाट प्राप्त औषधि तथा स्वास्थ्य सामग्रीमा छुट दिइएको छ। सुरक्षित प्रसूति, बर्थिङ सेन्टर, नवजात शिशुका लागि एसएनसियु तथा एनआइसियु सेवामा प्रयोग हुने उपकरणसमेत यसअन्तर्गत छन्।

त्यस्तै, भिटामिन ‘ए’, एफ-७५ र एफ-१०० थेराप्युटिक मिल्क, अल्बेन्डाजोल तथा शीघ्र कुपोषण उपचारका लागि प्रयोग हुने ‘रेडी टु युज थेराप्युटिक फुड’ आयातमा समेत कर छुट दिइएको छ।

परिवार नियोजन तथा प्रसूति स्वास्थ्य सेवाका सामग्री, कालाजार, डेंगु, मलेरिया, रुबेला, दादुरा, जापानी इन्सेफलाइटिस र रेबिज नियन्त्रणका लागि आयात हुने किट तथा खोपमा पनि भन्सार तथा अन्य कर छुट गरिएको छ।

निर्वाचन र सुरक्षा सामग्रीमा पनि छुट

प्रतिनिधिसभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट अनुदान तथा सहयोगस्वरूप प्राप्त सवारी साधन र सुरक्षा उपकरणको आयातमा पूर्ण कर छुट दिइएको छ। निर्वाचन सुरक्षा सुदृढीकरणका लागि भारतबाट उपलब्ध २१ करोड ५१ लाख भारतीय रुपैयाँभन्दा बढी मूल्यका सुरक्षा सामग्रीमा लाग्ने भन्सार, शुल्क तथा दस्तुरसमेत मिनाहा गरिएको छ।

त्यसैगरी, विदेशस्थित शान्ति मिसनबाट स्वदेश फर्काइएका नेपाली सेनाका बन्दोबस्तीका सामग्रीमा पनि कर छुट दिइएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ल्याइएका ३८ सवारीसाधन, ३७ कन्टेनर, पाँच ट्रेलर र छ जेनेरेटरको आयातमा लाग्ने कर तथा शुल्क मिनाहा गरिएको हो।

अमेरिकाबाट फर्काइएका सम्पदामा पनि छुट

गैरकानुनी रूपमा अमेरिका पुर्‍याइएका दुई महत्वपूर्ण नेपाली पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता ल्याउँदा लाग्ने सम्पूर्ण भन्सार दस्तुरसमेत छुट दिइएको छ। छुट पाउने सम्पदामा पद्मपाणि लोकेश्वर र नृत्यदेवीका मूर्ति रहेका छन्। अर्थ मन्त्रालयका अनुसार राजपत्रमा सूचना प्रकाशित भएसँगै यी कर छुटसम्बन्धी निर्णय कार्यान्वयनमा आइसकेका छन्।