नेप्से झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। बजारमा ठूलो उतारचढाव नदेखिए पनि नेप्से सामान्य अंकले ओरालो लाग्दै स्थिर रहने प्रयासमा देखिएको हो।

बुधबार नेप्से परिसूचक ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०८ अंक र फ्लोट इन्डेक्स ०.०२ अंक घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

यस दिन माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयरमूल्य ९० रुपैयाँ ४० पैसा बढेर ६९३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन कारोबारमा आएको मनकामना इन्जिनियरिङ कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

साहस ऊर्जाको कारोबार सर्वाधिक

कारोबार रकमका आधारमा साहस ऊर्जा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम पनि १५ करोड ५५ लाख रुपैयाँ नाघेको छ।

पाँच उपसमूह बढे

नेप्सेका १३ उपसमूहमध्ये बुधबार ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन्। यस दिन बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ। त्यस्तै, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ।