

बुटवल । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा उत्कृष्ट अवार्ड जितेका छन्।
नयाँदिल्लीमा आयोजित समारोहमा नबिल बैंकले वाणिज्य बैंकतर्फ बेस्ट बैंक अवार्ड प्राप्त गर्दा शाइन रेसुङ्गाले विकास बैंकतर्फ बेस्ट डेभलपमेन्ट बैंक, बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा सम्मान हासिल गरेको हो।
शाइन रेसुङ्गाको यो सफलता नेपाली विकास बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले संस्थागत सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता र दिगो वृद्धिमा बैंकको उत्कृष्ट प्रदर्शन झल्काएको विश्लेषण गरिएको छ।
अवार्डका लागि नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा भएको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।
छनोट प्रक्रियालाई पारदर्शी बनाउन अन्तर्राष्ट्रिय व्यावसायिक सेवा प्रदायक पीडब्लुसी (PwC) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो।
सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्सले दक्षिण एसियाली मुलुकबीच व्यापार, लगानी र वित्तीय सहकार्य प्रवर्द्धन गर्दै उत्कृष्ट बैंक तथा वित्तीय संस्थालाई वार्षिक रूपमा सम्मान गर्दै आएको छ। नेपाली बैंकहरूले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपालको बैंकिङ प्रणालीको विश्वसनीयता थप मजबुत बनाउने विश्वास गरिएको छ।