

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको खाता नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल बैंकिङ तथा वेबसाइटमार्फत पनि बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार ग्राहकले शाखामा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा सम्बन्धित बैंकले खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक खातामा रकमान्तर गरी खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउन बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र लागू गर्न निर्देशन दिएको छ। साथै, नेपालभरका कुनै पनि शाखाबाट ग्राहकको पहिचान गरी निष्क्रिय खाता सहज रूपमा पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
नयाँ व्यवस्थाअनुसार खाता निष्क्रिय हुनुअघि बैंकले फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ। निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन पनि कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले पुनः सञ्चालन भएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न तथा मनी म्युल कारोबार र वित्तीय अपराधसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।