

काठमाडौं । लगातार सात कारोबार दिनसम्म ओरालो लागेको सेयर बजार बुधबार भने उल्लेखनीय सुधारसहित हरियो बनेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले बढेर २,६५२.०० बिन्दुमा पुगेको छ।
बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको कारोबारमा लगानीकर्ताको सक्रियता पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार कारोबार रकम बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
आज २५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। कारोबारमा सहभागी सबै उपसमूहका सूचकहरू पनि सकारात्मक देखिएका छन्।
उत्पादन तथा प्रशोधन, जलविद्युत् र व्यापार समूहमा दुई प्रतिशतभन्दा बढी वृद्धि भएको छ। बैंकिङ समूह १.१४ प्रतिशत, विकास बैंक १.१५ प्रतिशत, फाइनान्स १.४९ प्रतिशत, होटल तथा पर्यटन १.६६ प्रतिशत, जलविद्युत् २.४२ प्रतिशत, लगानी १.६५ प्रतिशत, जीवन बीमा १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन २.३४ प्रतिशत, माइक्रोफाइनान्स १.११ प्रतिशत, निर्जीवन बीमा २.०३ प्रतिशत, अन्य समूह १.७६ प्रतिशत तथा व्यापार समूह २.६० प्रतिशतले उकालो लागेको छ।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै सीवाईसी लघुवित्त १४.२२ प्रतिशत, भुजुङ हाइड्रोपावर १३.९० प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावर ९.७३ प्रतिशत, मिडसोलु हाइड्रोपावर ९.३७ प्रतिशत, सामुदायिक लघुवित्त ९.०५ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ८.२५ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स ६.६२ प्रतिशतले उकालो लागेका छन्।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्तको मूल्य ४ प्रतिशत तथा अपर स्याङ्गे हाइड्रोपावरको ३.५५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् कम्पनी सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।