

काठमाडौं । मंगलबार शेयर बजारमा गिरावट देखिएको छ। पछिल्ला दिन २७०० विन्दु आसपासमा कारोबार हुँदै आएको नेप्से परिसूचक यस दिन घटेर सो स्तरभन्दा तल झरेको छ।आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३१ अंक, फ्लोट इन्डेक्स १.६३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले घटेका छन्।
कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ३५३ स्टकको १ करोड ४० लाखभन्दा बढी कित्ता शेयर ७२ हजार ८५४ पटक कारोबार भएको छ।
आज पनि दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किटमा पुगेको हो।
तर, कारोबारमा आएको बुंगल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले घटेको छ। त्यस्तै एपोलो हाइड्रोपावरको शेयर मूल्य ११ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ३४ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि सोपान फर्मास्युटिकल्सको करिब १९ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको १७ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूह बाहेक सबै उपसमूह घटेका छन्। म्युचुअल फन्ड सामान्य अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.९२ प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।