

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिको ग्वाडालजारा स्टेडियममा सम्पन्न खेलमा विजयी हुँदै अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए।
खेलको निर्णायक क्षण दोस्रो हाफको ५०औँ मिनेटमा आयो। मेक्सिकोका लुइस रोमोले गरेको एकमात्र गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो। त्यसपछि दुवै टोलीले थप गोलका अवसर बनाए पनि स्कोर परिवर्तन हुन सकेन।
यसअघि आफ्नो पहिलो खेल जितेका दुवै टोलीमध्ये मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै ६ अंक पुर्याएको छ। यो नतिजासँगै समूह ‘ए’ बाट मेक्सिको एक खेल बाँकी रहँदै नकआउट चरणमा पुग्न सफल भएको हो।
दक्षिण कोरियाले भने दोस्रो खेलमा हार बेहोरे पनि ३ अंकसहित अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेको छ। पहिलो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको थियो भने मेक्सिकोले दक्षिण अफ्रिकामाथि जित निकालेको थियो।
मेक्सिकोको यो जितले घरेलु समर्थकमाझ उत्साह थपिएको छ भने टोलीले उपाधि यात्रालाई पनि मजबुत बनाएको छ।