डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित

डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो जित दर्ता गरेको छ। समूह ‘बी’ अन्तर्गत भ्यानकुभरस्थित बिसी प्लेस रंगशालामा बिहीबार भएको खेलमा क्यानडाले नौ खेलाडीमा सीमित कतारलाई ६–० गोलअन्तरले पराजित गरेको हो।

क्यानडाको ऐतिहासिक जितमा जोनाथन डेभिड नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीको शानदार विजय सुनिश्चित गरे। यस्तै साइल लारिन र नाथन सालिबाले एक–एक गोल गरे भने अर्को गोल कतारका खेलाडीबाट आत्मघाती गोलका रूपमा प्राप्त भयो।

डेभिडले पहिलो हाफमै दुई गोल गरेका थिए। उनले इन्जुरी समयमा थप एक गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे। यससँगै उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो क्यानडेली पुरुष खेलाडी बनेका छन्। यो पुरुष विश्वकप इतिहासको ५६औँ तथा २०२६ संस्करणको दोस्रो ह्याट्रिकसमेत हो।

खेलको सुरुआतदेखि नै दबाबमा परेको कतारले दुई खेलाडी गुमायो। पहिलो हाफमै होमाम अहमद रातो कार्ड खाँदै मैदान बाहिरिए भने दोस्रो हाफमा आसिम मादिबोलाई भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षापछि रातो कार्ड दिइयो। त्यसपछि कतार नौ खेलाडीमा सीमित बनेको थियो।

संख्यात्मक लाभ उठाएको क्यानडाले दोस्रो हाफमा थप गोल वर्षायो। चोटग्रस्त इस्माइल कोनेको स्थानमा मैदान प्रवेश गरेका नाथन सालिबाले ६४औँ मिनेटमा आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अग्रता बढाए। त्यसपछि कतारी डिफेन्डर मोहम्मद मनाइबाट आत्मघाती गोल भएपछि क्यानडाले पाँचौँ गोल प्राप्त गर्‍यो।

यद्यपि क्यानडाको ऐतिहासिक जितमाथि मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटले छायाँ पारेको छ। खेलको ५१औँ मिनेटमा मादिबोको खतरनाक ट्याकलपछि उनी घाइते भएका थिए। उपचारपछि उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो र उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको आशंका गरिएको छ।

जितसँगै क्यानडा समूहको शीर्ष स्थानको दौडमा बलियो बनेको छ। अब स्विट्जरल्यान्डविरुद्धको अन्तिम खेलमा बराबरी मात्रै गरे पनि क्यानडा समूह विजेता बन्न सक्ने अवस्थामा पुगेको छ।

खेलपछि प्रतिक्रिया दिँदै डेभिडले कोनेको चोटले टोलीलाई भावुक बनाएको बताए। “कोने घाइते हुनुअघि खेल उत्कृष्ट थियो। त्यसपछि खेलमा ध्यान केन्द्रित गर्न कठिन भयो। तर आज हामीले देशका लागि इतिहास रचेका छौं। विश्वकपमा पहिलो जित हासिल गर्नु अविस्मरणीय उपलब्धि हो,” उनले भने।