नेपाली बजारमा एलजीको ‘इसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘इसेन्सियल सिरिज’ सार्वजनिक

स्थानीय आवश्यकताअनुसार डिजाइन गरिएका नयाँ घरेलु उपकरण

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै नयाँ घरेलु उपकरण शृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।

काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित विशेष समारोहमा उक्त शृंखलाको औपचारिक अनावरण गरिएको हो। ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस शृंखलाले आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन तथा किफायती मूल्यको संयोजनमार्फत नेपाली परिवारको दैनिक जीवनलाई अझ सहज र सुविधाजनक बनाउने कम्पनीले जनाएको छ। नयाँ शृंखलामा नेपाली घरपरिवारको आवश्यकता अनुसार डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको लामो सहकार्यले नेपाली उपभोक्तालाई गुणस्तरीय तथा भरपर्दो उत्पादन उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले नयाँ इसेन्सियल सिरिजले नेपाली उपभोक्ताको दैनिक जीवनलाई थप सहज र सुविधाजनक बनाउने विश्वास व्यक्त गरे।

एलजी इलेक्ट्रोनिक्स सिंगापुरका गृह उपकरण समाधान विभागका उत्पादन निर्देशक चाङ्हो हानले नेपाली उपभोक्ताको आवश्यकता, सुझाव तथा स्थानीय परिस्थितिलाई अध्ययन गरेर इसेन्सियल सिरिज विकास गरिएको जानकारी दिए। उनका अनुसार आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजनले नेपाली परिवारको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

स्मार्ट सुविधासहितको रेफ्रिजेरेटर

एलजी इसेन्सियल सिरिजअन्तर्गतको डबल–डोर रेफ्रिजेरेटरमा फ्रोस्ट–फ्री प्रविधि समावेश गरिएको छ, जसले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वतः चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम पानीको चापमा पनि प्रभावकारी धुलाई

फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन नेपालका विविध भौगोलिक तथा वातावरणीय अवस्थालाई ध्यानमा राखेर विकास गरिएको बताइएको छ। यसमा शक्तिशाली मोटर, बीएमसी कभर तथा आईपीएक्स–४ प्रमाणित जलरोधक कन्ट्रोल प्यानल समावेश गरिएको छ। साथै, लो–प्रेसर फिल प्रविधिका कारण कम पानीको चापमा पनि प्रभावकारी धुलाई सम्भव हुने कम्पनीको दाबी छ।

ऊर्जा बचत गर्ने एयर कन्डिसनर

इसेन्सियल सिरिजको रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको छ। यसले प्रभावकारी रूपमा चिस्यान र ताप प्रदान गर्नुका साथै परम्परागत नन–इनभर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने बताइएको छ। वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट तथा न्यून ध्वनि सञ्चालन प्रणालीले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजका उत्पादनहरू जुन २०२६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध हुनेछन्। प्रारम्भिक मोडेलहरूको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शोरुम, बहुब्रान्ड बिक्री केन्द्र तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध गराइनेछ।

सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो। एलजी इलेक्ट्रोनिक्ससँग चार दशकभन्दा लामो सहकार्य गर्दै आएको कम्पनीले एलजीलाई नेपाली बजारको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी रूपमा घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित छ। नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा ग्राहक–केन्द्रित डिजाइनमार्फत कम्पनीले विश्वभरका उपभोक्तालाई आधुनिक जीवनशैलीका समाधान उपलब्ध गराउँदै आएको छ।