

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट र स्थिर नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्। कानुनी तथा नीतिगत स्पष्टता नहुँदासम्म बैंकहरू ढुक्क भएर शिक्षा क्षेत्रमा लगानी विस्तार गर्न नसक्ने उनको भनाइ छ।
मंगलबार ललितपुरमा आयोजित ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल छलफलमा बोल्दै ज्ञवालीले शिक्षा क्षेत्रलाई केवल सेवामूलक क्षेत्रका रूपमा व्याख्या गरेर मात्र लगानी आकर्षित गर्न नसकिने बताए।
उनले राज्यले शिक्षा क्षेत्रको दीर्घकालीन नीति स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याउँदै नीतिगत अन्योल कायम रहे निजी क्षेत्र र बैंकिङ क्षेत्र दुवै लगानीका लागि उत्साहित नहुने बताए। “शिक्षालाई सेवाभाव मात्रै भनेर गोलमटोल कुरा गरिरहने हो भने बैंकहरूले यस क्षेत्रमा लगानी बढाउँदैनन्,” उनले भने, “बैंकहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने भएकाले लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित हुनुपर्छ।”
ज्ञवालीका अनुसार हाल कुल बैंकिङ लगानीको करिब ३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा रहेको छ। उक्त लगानी मुख्यतः मेडिकल कलेज, व्यवस्थापन कलेज तथा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूमा केन्द्रित रहेको उनले जानकारी दिए।
शिक्षा क्षेत्रप्रति बैंकहरूको भरोसा रहेको उल्लेख गर्दै उनले नबिल बैंकले मात्र यस क्षेत्रमा करिब २२ अर्ब रुपैयाँ लगानी गरेको तथ्य सार्वजनिक गरे।
सीईओ ज्ञवालीले सरकार परिवर्तनसँगै शिक्षा नीति परिवर्तन हुने प्रवृत्तिले निजी क्षेत्रलाई निराश बनाएको पनि बताए। उनका अनुसार शिक्षा क्षेत्रमा दीर्घकालीन र स्थिर नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको लगानी उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ। उनले बैंकहरू नाफामुखी संस्था भएकाले लगानीको सुरक्षा, स्थायित्व र उचित प्रतिफल सुनिश्चित हुने वातावरण निर्माण गर्नु राज्यको दायित्व रहेको धारणा व्यक्त गरे।