

-अच्युतकृष्ण शरण-
२१औँ शताब्दीको आधुनिक, उच्च प्रविधियुक्त, सूचनासम्पन्न र द्रुतगतिको वैश्विक सभ्यतामा धर्म र आध्यात्मिकताको परिभाषा फेरिनु हुँदैनथ्यो । तर, विडम्बना ! दुखका साथ भन्नुपर्छ आज धर्म केवल परम्परागत कर्मकाण्ड, बाह्य पूजा पद्धति, मन्त्र उच्चारण, गेरुवा वस्त्र वा बाह्य प्रतीकहरूको प्रदर्शनमा संकुचित हुँदै गएको छ। मानव इतिहास साक्षी छ, धर्मको मूल उद्देश्य कहिल्यै पनि केवल अनुष्ठानको औपचारिकता वा भीड जम्मा गर्नु थिएन । यसको गहिरो मर्म त मानवलाई मानवताको उच्चतम चेतनातर्फ उन्मुख गराउनु, समाजलाई विखण्डन र द्वेषबाट जोगाउनु, र व्यक्तिलाई करुणा, सत्य तथा सहअस्तित्वको आधारमा आन्तरिक रूपमा रूपान्तरण गर्नु हो ।
तर, वर्तमान सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थलाई नजिकबाट नियाल्दा धर्मको यही मूल आत्मा क्रमशः विकृत, प्रदूषित र व्यापारिक बन्दै गएको गम्भीर अनुभूति हुन्छ । जहाँ धर्मले प्रेमको सुगन्ध फैलाउनुपर्ने थियो, त्यहीँ अहिले प्रतिस्पर्धा, बजारमुखी प्रचार, भौतिक प्रदर्शन र प्रभुत्व जमाउने अहंकारको ध्वनि बढी सुनिन थालेको छ । धर्म, जुन आत्मिक शान्ति, मानसिक सन्तुलन र सामाजिक सद्भावको अकाट्य मार्ग थियो, आज कतिपय कर्पोरेट शैलीका आश्रम र गुरुहरूका कारण पहिचान, शक्ति, राजनीतिक पहुँच र आर्थिक साम्राज्य विस्तारको भर्याङ बन्न पुगेको छ।
आज धर्म केवल आस्था, व्यक्तिगत साधना र आन्तरिक रूपान्तरणको विषय मात्र रहेन। यो त एक सुनियोजित ‘ब्रान्डिङ’, आक्रामक ‘मार्केटिङ’ र ‘फलोअर इकोनमी’ (अनुयायी अर्थतन्त्र) जस्तो बहुराष्ट्रिय व्यापारिक संरचनामा रूपान्तरण हुँदै गएको देखिन्छ । सामाजिक सञ्जालका भित्तादेखि सार्वजनिक प्रवचन मञ्चहरूसम्म, आध्यात्मिकताको नाममा प्रतिस्पर्धात्मक प्रचार, प्रायोजित आत्मप्रशंसा र डिजिटल अनुयायीहरूको सङ्ख्या प्रदर्शन गर्ने होडबाजी सामान्य भइसकेको छ। आधुनिक सञ्चार माध्यमको दुरुपयोग गर्दै धार्मिक मञ्चहरूलाई संवेग (Emotion) को व्यापार गर्ने थलो बनाइएको छ।
यस्तो द्रव्यमुखी वातावरणमा आधुनिक समाजसामु केही गम्भीर प्रश्नहरू खडा हुनु स्वाभाविक र अपरिहार्य बन्न पुगेको छ ।
के धर्म अब आत्मशुद्धिको साधना हो कि आत्मप्रदर्शन र सम्पत्ति आर्जनको मञ्च?
के ‘गुरु’ को आसन सेवा, त्याग, वैराग्य र विनम्रताको सर्वोच्च प्रतीक हो कि राजनीतिक प्रभाव, अथाह धन र सस्तो लोकप्रियताको केन्द्र?
जहाँ संवेदनशीलता र करुणा हराउँदै जान्छ । त्यहाँ आत्मप्रचार एवं भौतिक महत्वाकांक्षा बढ्दै जान्छ, त्यहाँ धर्मको आत्मा मृतप्रायः हुन्छ। सत्यलाई नजरअन्दाज गरेर बाह्य आडम्बरको जगमा उभिएको धार्मिक साम्राज्य जतिसुकै भव्य देखिए पनि त्यसले समाजलाई अन्ततः नैतिक अन्धकारतर्फ नै धकेल्छ।
वैदिक सनातन धर्म दर्शन र विश्वका महान् धार्मिक सिद्धान्तहरूले सधैँ ‘वसुधैव कुटुम्बकम्’ को उच्च आदर्श प्रस्तुत गरेका छन् । तर, व्यवहारको धरातलमा जब यही आदर्शको रटान लगाउने संकीर्ण मतका सञ्चालकहरू नै समाजमा विभाजन, घृणा, साम्प्रदायिक विद्वेष र आफ्नो श्रेष्ठताको तुच्छ प्रतिस्पर्धामा उत्रिन्छन्, तब धर्म र पाखण्डबीचको सीमारेखा पूर्ण रूपमा धमिलो हुन थाल्छ ।
जहाँ धर्मले समाजका हरेक तप्कालाई जोड्ने पुलको काम गर्नुपर्ने हो, त्यहाँ यदि कुनै विचार, सम्प्रदाय, संस्था वा विशिष्ट घोषित व्यक्तित्वले अरूलाई तुच्छ, अशुद्ध वा शत्रु ठान्ने प्रवृत्तिको विकास गर्छ भने, त्यो आध्यात्मिकता हुँदै होइन । त्यो केवल वैचारिक अहंकार र अधार्मिक कट्टरता हो । अहंकार, जुनसुकै पवित्र पोशाक वा भाषामा प्रकट भए पनि, अन्ततः आध्यात्मिकताको पहिलो बाधक हो। करुणा र घृणा एउटै हृदयमा सँगै बस्न सक्दैनन्। त्यसैले, जो अरूको अस्तित्वप्रति असहिष्णु छ, ऊ कसरी ‘धार्मिक’ वा ‘परमपूज्य धर्मगुरु’ हुन सक्छ?
मलाई लाग्छ साँचो गुरु त्यो हो, जसले शिष्यलाई आफूतर्फ होइन, शाश्वत सत्यतर्फ उन्मुख गराउँछ। जसले मानिसलाई व्यक्ति पूजाको चक्रव्यूहबाट मुक्त गरेर विवेकको मार्ग देखाउँछ। जसले विनम्रता सिकाउँछ र शिष्यको मनमा उठ्ने तर्कसंगत प्रश्नहरूलाई निषेध होइन, बरु प्रोत्साहन गर्छ। तर, आजको तथाकथित गुरु परम्परा आत्मप्रशंसा, अन्धअनुकरण, प्रश्नहीन अनुयायित्व र व्यावसायिक सञ्जालमा परिणत भएको छ। परिणामस्वरुप, समाजमा स्वस्थ ‘श्रद्धा’ होइन, भयानक ‘अन्धभक्ति’ को जन्म भइरहेको छ।
अन्धभक्तिको सबैभन्दा ठूलो सामाजिक खतरा यही हो, यसले मानिसको सोच्ने र बुझ्ने विवेकलाई सुस्त बनाउँछ । आलोचनात्मक चेतनालाई निष्क्रिय पार्छ र सही गलत छुट्याउने क्षमताको हरण गर्छ। यस्तो बौद्धिक दासताको अवस्थामा धर्मको नाममा हुने शोषण, ठगी, अभद्र व्यवहार र असामाजिक क्रियाकलापहरू पनि सहजै स्वीकार्य हुन थाल्छन्। समाज जब प्रश्न सोध्न डराउँछ, तब पाखण्डको संस्थागत विकास हुन्छ।
आजको बौद्धिक समाजले आत्मसमीक्षा गर्दै यी प्रश्नहरूको उत्तर खोज्नैपर्छ ।
के करुणा, विनम्रता, अपरिग्रह (सम्पत्ति थुपार्ने मोह नहुनु) र सत्यको आधारभूत अभ्यास नै नगरेको व्यक्ति कसैको ‘आध्यात्मिक मार्गदर्शक’ हुन सक्छ?
के अरूको आस्था र अस्तित्वमाथि विषवमन गरेर, समाजमा साम्प्रदायिक विभाजन सिर्जना गरेर कोही व्यक्ति साँचो ‘धार्मिक गुरु’ कहलिन योग्य हुन्छ?
मलाई लाग्छ, धर्म कुनै आकर्षक भाषण होइन । कुनै विशिष्ट पोशाक होइन । न त यो कुनै संस्थागत कर्पोरेट संरचना नै हो। धर्म त मानवको दैनिक व्यवहार र चरित्रमा स्वतः प्रकट हुने चेतना हो। यदि व्यक्तिको आचरणमा करुणा छैन, अरूप्रतिको व्यवहारमा सहअस्तित्वको भावना छैन र सोचमा चरम विनम्रता छैन भने, उसको बाहिरी धार्मिकता केवल एक कुशल अभिनय वा व्यावसायिक आवरण मात्र हो।
साँचो धर्मले मानिसहरू बीचको दूरी बढाउँदैन, यसले त भत्किएका सम्बन्धहरू जोड्छ, घाइते मनहरूलाई मानवीयताको मलम लगाउँछ र समाजमा आपसी अविश्वासको खाडल पुरेर विश्वासको पुनर्निर्माण गर्छ। धर्मको वास्तविक परीक्षा कुनै भव्य मन्दिर, आश्रम, महँगा यज्ञशाला वा प्रवचन मञ्चमा हुँदैन । बरु दैनिक जीवनको साधारण व्यवहारमा, विपदा परेकाहरूलाई गरिने सहयोगमा र समाजप्रतिको उत्तरदायित्वमा हुन्छ। आचरण विनाको धर्म केवल एक निर्जीव लाश जस्तै हो, जसलाई जतिसुकै सजाए पनि त्यसले सुगन्ध दिन सक्दैन।
अबको समाजले धर्मलाई व्यापारिक र संकीर्ण बन्धनबाट मुक्त गराई पुनः यसको वास्तविक, उदात्त र मानवीय मूल मर्ममा फर्काउने साहस गर्नैपर्छ। केवल बाह्य आडम्बर, चमत्कारको भ्रम, र महँगा अनुष्ठानहरूलाई ‘आध्यात्मिकता’ ठान्ने सामूहिक सम्मोहन (Mass Hypnotism) बाट समाज बाहिर निस्कन आवश्यक छ। धर्मको नाममा पर्दापछाडि चलिरहेको शक्ति, राजनीति, भावनात्मक दोहन, र अनुयायीको संख्या बढाएर गरिने ‘इमोसनल ब्ल्याकमेलिङ’ लाई साहसका साथ प्रश्न गर्ने समय आइसकेको छ।
यो वैचारिक प्रश्न कुनै एक विशिष्ट व्यक्ति, संस्था वा धार्मिक सम्प्रदायविरुद्धको सङ्घर्ष मात्र होइन; यो त समग्र सामाजिक चेतनाको शुद्धिकरण र जागरणको महाअभियान हो। हामीले आफैलाई सोध्नुपर्ने बेला भएको छ, हामी वास्तवमा के पूजा गर्दैछौँ? सत्य र मानवतालाई, कि केवल भव्य आवरण र अभिनयलाई?
अन्ततः, संसारका तमाम दार्शनिक निष्कर्ष र धार्मिक शास्त्रहरूको सारलाई एउटै वाक्यमा समेट्न सकिन्छ । जसले जगतलाई जोड्छ र कल्याण गर्छ, त्यो धर्म हो । जसले समाज अनि मानवलाई तोड्छ र एकआपसमा घृणा फैलाउँछ, त्यो अधर्म हो । जसले मानवभित्र करुणा र सेवाभाव जगाउँछ, त्यो वास्तविक अध्यात्म हो । जसले मानिसमा अहङ्कार, साम्प्रदायिकता र श्रेष्ठताको उन्माद बढाउँछ, त्यो केवल धार्मिक बजारको व्यापारिक आवरण हो।
आवरणमा जतिसुकै दिव्यता, भव्यता र ‘परमपूज्यता’ को दाबी गरिए तापनि यदि व्यक्तिको आचरण र व्यवहारमा न्यूनतम मानवता, नैतिकता र इमानदारिता छैन भने, त्यो आध्यात्मिकता होइन । त्यो केवल धर्मको नाममा गरिएको प्रपञ्च र पाखण्ड हो।
इतिहास साक्षी छ, पाखण्ड र भ्रमको आयु कहिल्यै पनि दीर्घकालीन हुँदैन। यसले समाजलाई केही समय दिग्भ्रमित पार्न त सक्ला, तर अन्ततः यसले समाजको जगमा गहिरो अविश्वास र नैतिक स्खलनको घाउ मात्र छोडेर जान्छ। त्यसैले, वर्तमान र आगामी पुस्ताको भविष्य सुरक्षित राख्नका लागि प्रश्न केवल अरूमाथि होइन, आफैभित्र पनि सोधिनु आवश्यक छ । हामी धर्म र नैतिकताको माध्यमबाट उन्नत समाज निर्माण गर्दैछौँ कि धर्मको अन्धअनुकरण गर्दागर्दै आफ्नो मौलिक मानवीय चेतना नै गुमाउँदैछौँ?
बेलैमा चेतना भया ! जयजय गोरख, जयजय काली