

काठमाडौँ । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलहरू आज हुँदैछन् । घरेलु टोली नेपालले साविक विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र काजखस्तान आमनेसामने हुनेछन् ।
आठ टोली सहभागी प्रतियोगितामा भारत र नेपाल क्रमशः समूह ‘ए’ को विजेता र उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । त्यस्तै इरान र काजखस्तान समूह ‘बी’ को विजेता तथा उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा भारत र काजखस्तान बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहल मा सुरु हुनेछ । भारतले सन् २०२४ मा काठमाडौंमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने सहभागी टोलीमध्ये उच्च वरियतामा रहेको टिम हो ।
समूह चरणमा भारत अपराजित रहँदै तीनवटै खेल जितेको थियो भने काजखस्तानले दुई खेल जित्दा एक खेलमा हार बेहोरेको थियो ।
दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल ले इरान सँग साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ । इरानले समूह चरणका तीनवटै खेल सोझो सेटमा जित्दै प्रभावशाली प्रदर्शन गरेको थियो ।
गत वर्ष काठमाडौंमै भएको प्रतियोगितामा नेपाल र इरानबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए । नेपालले यसपटक समूह चरणमा दुई खेल जिते पनि भारतसँग पराजित भएको थियो ।
सेमिफाइनलका विजेता टोलीबीच शुक्रबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोली एसियन कपका लागि छनोट हुने नेपाल भलिबल संघले जनाएको छ ।