प्रधानमन्त्री संसदमा अनुपस्थित हुँदा अन्तर्राष्ट्रिय सन्देश गलत जान सक्ने चेतावनी

प्रधानमन्त्री संसदमा अनुपस्थित हुँदा अन्तर्राष्ट्रिय सन्देश गलत जान सक्ने चेतावनी

विज्ञान मन्त्रालय गठनप्रति महावीर पुनको स्वागत, ‘अनुसन्धान’ शब्द छुटेकोमा असन्तुष्टि

काठमाडौं । सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त निर्णय सकारात्मक भए पनि मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द समावेश नगरिएकोमा असन्तुष्टि जनाए ।

उनले विज्ञान र प्रविधिको विकास अनुसन्धानसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै मन्त्रालयको संरचना र उद्देश्य अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

सांसद पुनले आफूलाई माननीयभन्दा पनि विद्यार्थी ठान्ने गरेको बताउँदै यसअघि दिएको ‘श्राप’ फिर्ता लिने घोषणा समेत गरे । उनले नीति तथा कार्यक्रममा पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान तथा विकास क्षेत्रमा छुट्याउन सरकारसँग आग्रह गरे ।

उनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशले विकासको गति लिन नसक्ने उल्लेख गर्दै युवाहरूलाई विज्ञान र प्रविधिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए ।

सांसद पुनले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नहुँदा त्यसले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने चिन्ता पनि व्यक्त गरे ।

उनले भने, “प्रधानमन्त्रीज्यू यहाँ आउनुभएन । हामीले पनि उहाँलाई ल्याउन कोसिस गरिरहेका छौँ, अनि उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ । यो हाम्रो आन्तरिक कुरा होस् । भोलि यो कुरा इन्टरनेसनल मिडियामा गयो भने के होला भन्ने डर लागेको छ । उहाँले विश्वभर ख्याति प्राप्त गर्नुभएको छ ।”

उनले सरकार र संसदबीच समन्वय तथा संवादलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको पनि बताए ।